Kathmandu Press

एमालेको १७ प्रतिबद्धता : प्राविधिक विद्यालय खोल्नेदेखि विदेश जानेलाई तालिम दिनेसम्म 

वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम एउटा सिपमूलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिहरुको ज्ञान, सिप र पूँजीको सदूपयोग गर्ने सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने पनि घोषणापत्रमा उल्लेख छ। 
एमालेको १७ प्रतिबद्धता : प्राविधिक विद्यालय खोल्नेदेखि विदेश जानेलाई तालिम दिनेसम्म 

काठमाडौं,  वैशाख ९ : आसन्न स्थानीय तहको निर्वाचनका  लागि नेकपा एमालेले ४८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ।शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहका बीच एमालेले ६ बुँदे संकल्पसहितको घोषणापत्र सार्वजनिक गरेको हो। 

घोषणापत्रमा एमाले सरकारबाट बाहिरिनुको कारण, सर्वोच्चको आदेश र वर्तमान सरकार गठनको समिक्षा समेत गरिएको छ। घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन स्वाभाविक रहेको र सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना समेत गरिएको छ।

‘एउटा जनादेश खण्डित भइसकेपछि पुनः सार्वभौम जनताको बीचनमा जानु र ताजा जनादेशको खोजी गर्नु स्वाभाविक र लोकतान्त्रिक प्रक्रिया हो।  तर हामीकहाँ यसो हुन दिइएन। संविधानको अपव्याख्या र अदालतको दुरुपयोग गर्दै सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित गरियो। अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने गलत,अलोकतान्त्रिक र अराजक नजिर स्थापित गरियो,’ घोषणापत्रमा भनिएको छ। 

घोषणापत्रमा वर्तमान सरकारले विकास निर्माणका काम नगरेको, नयाँ परियोजना सुरु नगरेको, अर्थतन्त्र ध्वस्त बनाएको लगायतका आरोप लगाइएको छ। यसअघि ओली प्रधानमन्त्री रहँदा गरिएका कामहरु पनि घोषणापत्रमा बुँदागत प्रस्तुत गरिएको छ। 

आगामी निर्वाचनका लागि एमालेले १७ वटा प्रतिवद्धता प्रस्तुत गरको छ । जसमा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयहरु समावेश छन्। प्रत्येक पालिकामा कम्तिमा एउटा प्राविधिक धारको विद्यालय स्थापना गर्ने, प्रत्येक पालिकामा एउटा औद्योगिक ग्राम र प्रत्येक प्रदेशमा कम्तिमा एउटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ। 

त्यस्तै स्थानीय तहका अधिकार क्षेत्रभित्रका  खानी तथा खनिज पदार्थको उत्खनन्, संरक्षण एवं परिचालन सम्बन्धि नीति तथा कानूनी व्यवस्था र सोको कार्यान्वयनद्वारा स्रोत व्यवस्थापन गर्ने प्रतिवद्धता उल्लेख छ।  

वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम एउटा सिपमूलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिहरुको ज्ञान, सिप र पूँजीको सदूपयोग गर्ने सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने पनि घोषणापत्रमा उल्लेख छ। 

यस्ता छन् मुख्य १७ प्रतिवद्धताहरुः 

१. गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार

२. निरोगी नेपाल, स्वस्थ नेपाली

३. स्वच्छ खानेपानी : सफा बस्ती र राम्रो आनीबानी

४. आधुनिक उर्जा : उज्यालो पालिका

५. उन्नत कृषि : किसानको समृद्धि

६. सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार

७.  एकीकृत वस्ती, योजनावद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास

८. औद्योगीकरण र आर्थिक वृद्धी : स्वदेश मै रोजगारी सम्मान र समृद्धि

९. उद्यमशीलता र रोजगारी : समृद्धिका लागि सहकारी 

१०. मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि 

११. सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा

१२. समानतातर्फको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता 

१३. खुशी ज्येष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका

१४. जलवायु अनुकूलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन

१५. समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानव अधिकार

१६. संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय

१७. संस्थागत सुदृढीकरण : योजनावद्ध विकास 
 

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्