'समृद्ध नेपाल सुखी नेपालीकाे नारा सार्थक बनाउन एमाले सरकारमा आउनैपर्छ'
कञ्चनपुर, वैशाख ९ : एमाले अध्यक्ष केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थकता दिन आगामी निर्वाचनबाट एमालेको सरकार बन्नैपर्नेमा जोड दिएका छन्। ललितपुरको च्यासलस्थित...
काठमाडौं, वैशाख ९ : एमाले अध्यक्ष केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थकता दिन आगामी निर्वाचनबाट एमालेको सरकार बन्नैपर्नेमा जोड दिएका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आजैदेखि सञ्चालनमा ल्याइएको पार्टी कार्यालयमा आयोजित घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले मुलुकमा विकासको लहरलाई अघि बढाउन पनि तीनै तहको चुनावमा एमालेलाई जिताउनुपर्ने धारणा राखे।
यसअघि आफू नेतृत्वको सरकारले सुरु गरेको विकासका आयोजनाहरुलाई वर्तमान सरकारले अलपत्र पारेको उनले बताए।
उनले जनताको मनमा बसेको पार्टी भएकाले एमालेलाई कमजोर नआँक्न चेतावनी दिए। उनले ९१ सालमा स्थापना भएको प्रज्ञा परिषद्को उतराधिकारी पनि एमाले नै भएको बताए। उनले पवित्र मनका साथ देशभक्तिको भावनाअनुरुप घोषणा पत्रमा उल्लेख विषयलाई कार्यान्वयन गर्ने धारणा राखे।
उनले घोषणापत्रमा मसिना कुरामा समेट्नुपर्ने आवश्यकता नभएको जिकिर गरे। एमालेको घोषणापत्रको सार तत्व भनेकै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु रहेको उनले स्पष्ट पारे।
वृद्धभत्ता दिने पार्टी एमाले हो भनेर भनिरहनुनपर्ने, देशका असक्त असहाय, सेना, प्रहरी, कर्मचारीको सेवा बढाउने पार्टी एमाले हो भनेर भन्दै हिँड्नुनपर्ने दाबी उनले गरे।
मधेसमा पनि एमालेको लहर चलेको, अब देशभरि सूर्य छाउने र एमालेको सरकार आएरै छाड्ने उनको भनाइ थियो। मधेसको हितका लागि पूर्वपश्चिम राजमार्ग चौडा बनाउने, मधेसमा रहेको नागरिकता समस्या हल गर्न अध्यादेशको व्यवस्था गर्ने एमाले नै भएको जिकिर उनले गरे।
पहाड छेडेर सुनकोसी मरिन डाइभर्सन गरी तराईको १ लाख ५० हजार बिघा जमिन सिँचाइको व्यवस्था एमालेले नै गरेको उनको भनाइ थियो।
एमालेले आफ्नो घोषणपत्रमा शिक्षा सुधारको विषयलाई प्राथमिकता दिएको छ। त्यस्तै स्वास्थ्य, खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले घोषणापत्रमा समेटेको छ भने योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय पनि घोषणापत्रमा उल्लेख छन्।
१७ बुँदे कार्यक्रमसहित चुनावी घोषणापत्रमा गठबन्धन दिशाहीन भएको र देशमा चौतर्फी संकट देखिएको भन्दै स्थानीय तह निर्वाचनमा एमालेको विकल्प नरहेको दाबी गरिएको छ।
एमालेले मुलुकका अधिकांश पालिकामा आफ्नातर्फबाट स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।











