भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनकातर्फबाट उम्मेदवार बन्नका लागि दाहालले मेयरबाट राजीनामा दिएकी हुन्।
काठमाडौं, वैशाख ९ : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्। शुक्रबार मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनकातर्फबाट उम्मेदवार बन्नका लागि दाहालले मेयरबाट राजीनामा दिएकी हुन्। उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरिसकेकी छन्।
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार बहालमा रहेका जनप्रतिनिधिले पुनः उम्मेदवारी दिन चाहेमा पदबाट राजीनामा दिनुपर्ने प्रावधान छ। सोही अनुसार दाहालले शुक्रबार मेयरबाट राजीनामा गरेकी हुन्।
भरतपुरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले मेयर र नेपाली कांग्रेसले उपमेयर पाउने सहमति भइसकेको छ। ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।











