प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट
काठमाडाैं, वैशाख ९ : प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान...
काठमाडाैं, वैशाख ९ : प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा. गेहब्रेयसले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उनीप्रति आभार पनि व्यक्त गरे।
प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा. टेड्रोसलाई आग्रह गरे।
महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए। महानिर्देशक डा. टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा. टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका थिए। नेपाल भ्रमणमा रहँँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले भेटवार्ता गरे।











