Kathmandu Press

म्याग्दीमा वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार

गलेश्वर, वैशाख ९ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन्।म्याग्दीका तीन...
म्याग्दीमा वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार

गलेश्वर, वैशाख ९ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन्।

म्याग्दीका तीन ठूला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारमा प्रमुख पदमा एक पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा पनि एक महिला मात्र समेटिएका छन्।  एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन्। 

Hardik ivf

यी ४५ वडाका लागि बिहीबारसम्म जिल्लामा नेकपा एमालेले ४३, नेपाली कांग्रेसले २८ र नेकपा माओवादी केन्द्रले ११ वडामा ८२ वडाध्यक्षका प्रत्यासी छनोट गर्दा नेकपा एमालेका तर्फबाट मङ्गला गाउँपालिका–४ मा लक्ष्मी बूढाथोकी मगर मात्र वडाध्यक्षमा महिला उम्मेदवार बनेका छन्। 

नेकपा एमाले मङ्गला–४ को वडा कमिटीले उहाँलाई वडाअध्यक्षको उम्मेदवार बनाएपछि वडाअध्यक्षको उम्मेदवारका लागि जिल्लामा महिला उम्मेदवारको खाता खोलिएको जनाइएको छ । अध्यक्षका उम्मेदवार बूढाथोकी पार्टीको वडा कमिटी उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य हुनुुहुन्छ । वडाको नेतृत्वमा पुरुषलाई नै अगाडि सार्ने तयारी गरिरहेका बेला बूढाथोकीले उम्मेदवारका लागि इच्छा व्यक्त गरेपछि सर्वसम्मतरुपमा वडाध्यक्षको उम्मेदवार बनाइएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य एवं मङ्गला–४ का इञ्चार्ज कलाधर कँडेलले जानकारी दिए। 

म्याग्दीमा सक्रिय ठूला राजनीतिक दलका नेतृत्व तहमा महिलाको सङ्ख्या पर्याप्त नहुँदा नीति निर्माणको तहमा महिलाका मुद्दा उठान गर्न नसिकएको र समतामूलक समाज निर्माणमा पनि समस्या देखिएको महिला अधिकारकर्मीको भनाइ छ । मतदाताले महिला उम्मेदवारलाई बढी विश्वास गरे पनि नेतृत्वले विश्वास नगर्दा महिला राजनीतिमा पछि पर्नुपरेको महिलाअधिकारकर्मी जमुना आचार्यले बताइन्। 

‘विगतका निर्वाचनलाई हेर्ने हो भने महिला उम्मेदवारले पुरुष उम्मेदवारको तुलनामा राम्रो मत प्राप्त गरेको देखिन्छ, तै पनि राजनीतिक दलको नेतृत्वले महिलालाई पत्याउँदैनन्,’ आचार्यले भनिन्। राजनीतिमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाको सहभागिता कलस्टरमा मात्रै सीमित रहने गरेको उनको भनाइ छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा म्याग्दीको मालिका गाउँपालिका–५ की वडाध्यक्ष पिपला बूढा जिल्लाका ४५ वटै वडामध्ये एक्ली महिला वडाध्यक्ष छन् । कोटा निर्धारण भएअनुसार नै महिलालाई ठाउँ दिइने गरेको नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित बूढाले बताइन्।

म्याग्दीमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी मतदाता कायम भएको छ । जिल्लाका छवटै स्थानीय तह र ४५ वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मतदानमा महिला नै निर्णायक हुने भएकाले महिलालाई नेतृत्व दिनुपर्नेमा सरोकारवाला निकायको जोड छ । विभेदकारी सोच भएको समाजलाई समतामूलक बनाउनका लागि स्थानीय तहहरूमा महिला नेतृत्व आवश्यक भइसकेको नेपाली कांग्रेसकी नेत्री विमला गौचनले बताइन् । उनले भनिन्, ‘पार्टीमा महिलाको योगदान पनि उत्तिकै हुन्छ, महिलालाई नेतृत्वका लागि टिकट दिन कन्जुस्याइँ गरिनु हुँदैन।’ 

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्