आचार्य र पन्तको प्यानल नै भिड्दै, कसकाे प्यानलमा को?
काठमाडौं, असोज २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि आज बुधवार निर्वाचन हुँदै छ।
८१ देशबाट दुई हजार पाँच सय प्रतिनिधिले ....
काठमाडौं, असोज २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि आज बुधवार निर्वाचन हुँदै छ।
८१ देशबाट दुई हजार पाँच सय प्रतिनिधिले अध्यक्षसहित ४२ जना निर्वाचित गर्नेछ। जसका लागि कांग्रेस निकट कुल आचार्य र नेकपा निकट कुमार पन्त प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन्।
आज दिउसो ३ बजेदेखि बेलुकी ९ बजेसम्म हुने निर्वाचनका लागि अहिले बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनय दर्ताको समय तोकिएको थियो। कुनै पनि पदमा निर्विरोध हुन नसकेकाले सम्भवतः सबै पदका लागि निर्वाचन हुने समितिले जनाएको छ।
दुई वर्षे कार्यकालको निर्वाचनका लागि विद्युतीय मतदानको व्यवस्था गरिएको छ। जसको नतिजा आजै राति आउने निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्वका लागि उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । दुवै समूह आफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।
आचार्य प्यानलमा को–को?
बेलायत निवासी आचार्य वर्तमान उपाध्यक्ष हुन्। आचार्यको प्यानलबाट उपाध्यक्षमा अमेरिका निवासी केशव पौडेल, अष्ट्रेलियाका मन केसी, मध्यपूर्वका नरेन्द्र भाट र अमेरिकाबाट रबिना थापा चुनावी मैदानमा उत्रिएका छन्।
महासचिवमा बेल्जियमकी जानकी गुरुङ उम्मेदवार बनेकी छिन्। कोषाध्यक्षमा सोम सापकोटा उठ्ने भएका छन्।
पन्तको प्यानलमा को–को?
जर्मन निवासी कुमार पन्त पनि वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन्। पन्त समूहबाट उपाध्यक्षमा बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन्। महिला उपाध्यक्षमा रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छिन्। यस्तै महासचिवमा बेलायत निवासी डा.हेमराज शर्माले उम्मेदवारी दिने भएका छन।
सचिवमा अमेरिका निवासी गौरी जोशी, कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन। सह–कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल, रसियाका गोबिन्दप्रसाद गौतम र अमेरिकाबाट एसी शेर्पाले दाबी गरेका छन्।
पूर्वअध्यक्षहरू समर्थन कस–कसलाई?
राजनीतिक कित्ताकाट सुरू गरेको भन्दै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले विश्व सम्मेलननै बहिस्कार गरेका छन्। उनले चुनावभन्दा पनि सहमतिमा नेतृत्व चयनको भूमिका खेल्न वर्तमान अध्यक्ष भवन भट्टलाई दवावनै दिएका छन्।
यता पूर्वअध्यक्ष जिवा लामिछानेले कुमार पन्तलाई सहयोग गर्ने घोषणा गरेका छन् भने पूर्वअध्यक्षद्वय देवमान हिराचन र शेष घले कुल आचार्यको समर्थनमा देखिएका छन्। वर्तमान अध्यक्ष भवन भट्टले भने हालसम्म कुनै पनि उम्मेदवारलाई समर्थन गरेका छैनन्।






