ललितपुरकाे सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, १ काे मृत्यु, ७ घाइते
काठमाडौं, वैशाख ८ : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। मृतक भारतीय नागरिक रहेको जनाइएको छ।आज (बिहीबार)...
काठमाडौं, वैशाख ८ : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।
आज (बिहीबार) बिहान १० बजेतिर भएको विस्फोटमा परी सातजना घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेका छन्। उनी भारतीय नागरिक रहेको प्रहरीकाे भनाइ छ।
घाइतेहरूको उपचार पाटन अस्पताल भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुर प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहलगायत घटनास्थलमा पुगेका छन्।
विस्फोटका कारण अक्सिजन प्लान्ट पूर्ण रुपमा ध्वस्त भएको छ भने नजिकका घरहरुमा पनि क्षति पुगेको छ। बिहान १० बजेको हाराहारीमा अक्सिजन रिफिल गर्ने क्रममा सिलिन्डर विस्फोट भएको र एकजनाको मृत्यु भएको एसपी शाहले जानकारी दिए। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए।











