निर्वाचन हुन्छ कि हुन्न भन्ने दोधारमा नरहनुस् : प्रचण्ड
कैलाली, वैशाख ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। प्रेस सेन्टर कैलालीले आज धनगढी...
कैलाली, वैशाख ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।
प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्नुपर्ने बताए।
कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसंग उल्लेख गर्दै उनले भने, 'हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुंगाे लागिसकेको छ।'
निर्वाचन हुन्छ कि हुन्न भन्ने दोधारमा नरहन उनले सबैलाई आग्रह गरे। 'अब केही दोधार छैन, वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ,' अध्यक्ष दाहालले भने।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताए।











