मतदान केन्द्रमा पुग्न थाल्यो निर्वाचन सामग्री
डोटी, वैशाख ८ : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र पारेका...
डोटी, वैशाख ८ : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र पारेका हुन्।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्र तय गरिएको छ। सबै मतदान केन्द्रमा व्यवस्थापनको तयारी भइरहेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए। प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौवटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ।
अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए। प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र दुई हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल तीन हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुनेछन्।
सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन्। कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिनेछन्।
कञ्चनपुरका नौ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८०० बढी कर्मचारी खटिने भएका छन्। सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्। जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गी छन्।
यसैगरी डोटीका नौवटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए। कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने सो विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिए।
डोटीमा पछिल्लो सयम राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन्। चुनावको मिति घोषणासँगै कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । डोटीमा एक लाख २४ हजार १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए। (रासस)











