बराह तालमा पूर्वाधार निर्माण
म्याग्दी, वैशाख ८ : म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ।बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले...
म्याग्दी, वैशाख ८ : म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ।
बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो। मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको बताए।
बराह ताललाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउने अभियानमा जुटेको उनको भनाइ छ। मालिका गाउँपालिकाको १० लाख सहयोगमा ताल वरपर ढुङ्गा बिछ्याएर पदमार्ग र पर्खाल निर्माण गरिएको छ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको तीन लाख बजेटबाट ताल परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको हो। उपभोक्ता समितिका अध्यक्ष डेकप्रसाद फगामीले पदमार्ग र पर्खाल निर्माण भएपछि ताल आकर्षक बनेको बताए।
करिब ४५ मिटर लम्बाइ चौडाइ र तीन मिटरभन्दा बढी गहिरो ताल समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित छ । तालको पृष्ठभूमिमा धौलागिरि र गुर्जा हिमाल छन्।
तालमा हिमालको छायाँ पर्दा मनमोहक दृष्य देखिन्छ। त्यहाँ रहेको जलबराहको थानमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । (रासस)











![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)
