डब्लूएचओका महानिर्देशक आज नेपाल आउँदै
काठमाडौं, वैशाख ८ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउदै छन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा...
काठमाडौं, वैशाख ८ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउदै छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज दिउँसो १२ः२५ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रलायले जनाएको छ। तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन्।
उनले आजै अपरान्ह ३ बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।
महानिर्देशकका साथ डब्लूएचओको दक्षिण पूर्वएशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारी पनि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी वैशाख १० गते फर्किनेछन्।











