Kathmandu Press

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

खाेटाङ, बैशाख ७ : कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी...
कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

खाेटाङ, बैशाख ७ : कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ। अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो।

अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौँमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको छ। साबिकको महादेवीस्थान गाविस–४ हाल हलेसी तुवाचुङ नगरपालिका–७ का कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोजले सूचना तथा प्रसारण विभागमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको रजिष्ट्रेशन नम्बरलगायत सबै मिलेको पाइएको छ।

Hardik ivf

अर्काका नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप र दस्तखतसमेत कीर्ते गरेर पेस गरेको कागजातका आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। आवश्यक प्रमाणसहित स्थानीय एक व्यक्तिले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरी मङ्गलबार जिल्ला ल्याइएको सूचना अधिकारी साहले विज्ञप्तिमार्फत जानकारी दिएका छन।   

जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले प्रतिवादी गिरीलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिएका छन। गिरीलाई जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा मङ्गलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सूचना तथा प्रसारण विभागमा विसं २०७६ असोज–५ गते दर्ता भएको सो अनलाइन मिडियाको दर्ता प्रमाणपत्र नं १५६५–२०७६–०७७ रहेको छ। गिरीमाथि अनलाइन सञ्चारमाध्यममार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, नियोजित र प्रायोजित समाचार लेख्ने गरेको लगायतका आरोप लागेको छ।

गिरीले अनलाइन मिडिया दर्ताका लागि सूचना तथा प्रसारण विभागमा पेस गरेको प्रमाणपत्रमा एसएलसी विसं २०६० मा, आइए विसं २०६३ मा र बिए २०६५ मा उत्तीर्ण गरेको भेटिएको छ। विसं २०६५ मा बिए तीनवर्षे थियो।

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्