जसपाकाे घाेषणापत्र : शौचालय बनाउन १० हजार अनुदान, शिक्षामा बजेटको १० प्रतिशत लगानी (पूर्णपाठसहित)
काठमाडौं, वैशाख ७ : जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।स्थानीय तहको मुख्य कार्यभार स्थानीय भौतिक पूर्वाधार,...
काठमाडौं, वैशाख ७ : जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
स्थानीय तहको मुख्य कार्यभार स्थानीय भौतिक पूर्वाधार, स्थानीय अर्थतन्त्र, मानवीय विकास हुने घोषणापत्रमा उल्लेख छ।
भौतिक पूर्वाधार विकासका लागि हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने, पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने, आधुनिक शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने, महानगरहरुमा नगररेलको सम्भाव्यता अध्ययन गर्ने घोषणा जसपाले गरेको छ।
हरेक गाउँपालिका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोल्ने, बर्थिङ सेन्टर स्थापना गर्ने जसपाको घोष्णापत्रमा उल्लेख छ।
जसपाले सबै गाउँपालिकाहरूको विस्तृत भूउपयोग योजना र नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाहरूको गुरुयोजना तयार गरी क्रमशः लागु गरिने जनाएको छ।
शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गर्न श्रम, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न जोड गरिने जनाइएको छ। ‘एक पालिका एक मोडल स्कुल’ को अवधारणालाई कार्यान्वयन गरिनेछ।
‘आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गरिने छ। आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने छ। गणित, विज्ञान, स्वास्थ्य विज्ञानलगायतका आधुनिक विषयहरूको पढाई अंग्रेजी माध्यामबाट गरिनेछ। विद्यालय र घरवस्तीको दुरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गरिने छ।
स्थानीय तहहरूले शिक्षामा सुरूमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ।
प्रत्येक गाउँपालिकाहरूमा कम्तिमा एक खेल विधाको ग्रामीण स्तरको एक÷एक खेलमैदान र रंगशाला निर्माण गरिन, कृषिमा यान्त्रीकीकरण, आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखिने, तराईमा कृषीयोग्य जमिनको व्यापक उपयोग र पहाडमा फलफूल र पशुपालनको विकासमा जोड दिइने जनाइएको छ।











