Kathmandu Press

गण्डकीका सम्पदा विश्व सम्पदा सूचीकृत गर्न आग्रह

पोखरा, वैशाख ७ : गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको...
गण्डकीका सम्पदा विश्व सम्पदा सूचीकृत गर्न आग्रह

पोखरा, वैशाख ७ : गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको  छ।  

विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका सम्पदालाई सूचीकृत गर्दै थप सम्पदाको खोजीका लागि आग्रह गरेको हो। 

कार्यक्रममा पुरातत्व विभाग सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलले गण्डकी प्रदेशमा कैयौँ प्राकृतिक सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा रहेकाले ती सबैको पहिचान र संरक्षणको आवश्यकता औँल्याउनुभयो। उनले सम्पदा कुनै पनि देशको विशेष सम्पत्ति भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारसँगै नागरिकको पनि उत्तिकै चासो र अग्रसरता आवश्यक हुनेमा जोड दिए। उनका अनुसार हालसम्म विश्वसम्पदा सूचीमा आठ वटा सांस्कृतिक र दुई वटा प्राकृतिक गरी १० वटा सम्पदा सूचीकृत छन्। त्यसैगरी युनेस्कोले नेपालमा १५ वटा सांस्कृतिक सम्पदालाई ‘टेन्टेटिभ लिष्ट’मा राखेको छ। 

Hardik ivf

त्यसमा गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोरखास्थित मध्यकालीन दरबार क्षेत्र र लोमान्थाङ वालसिटी रहेका छन्। यसका अतिरिक्त गण्डकी प्रदेशका लमजुङ, तनहुँ, पर्वत, बागलुङलगायतका जिल्लामा ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्वका स्थल रहेका र ती क्षेत्र उत्खनन र संरक्षणको प्रयास भइरहेको प्रमुख पौडेलले जानकारी दिए।

उनले भने, 'सम्पदाका रुपमा अभिलेख गर्न पुराना संरचना नमासिएको र उस्तै स्वरुप झल्कने हुनुपर्छ तर सम्पदाको महत्व बुझ्न नसक्दा मासिने, अतिक्रमण हुने, स्वरुप परिवर्तन हुने क्रम बढ्दै जाँदा सम्पदाको अस्तित्व हराउन पुगेको छ।' 

प्राध्यापक डा. नारायणप्रसाद अधिकारीले कालीगण्डकी नदीको सभ्यताको महत्व दर्शाउँदै सम्पदाको रुपमा सूचीकृत गर्नुपर्नेमा जोड दिए। कालीगण्डकी सभ्यता आस्था र भावनाको धरोहरसँगै यहाँ पाइने शालिग्राम, जीवाशेषका प्रमाणले पनि जीवको सृष्टि यहीँबाट भएको हो भन्ने पुष्टि हुने भएकाले यो सम्पदाको सूचीकृत गर्नुपर्ने उनको भनाइ थियो। शालिग्राम दिन प्रतिदिन चोरी निकासी हुँदै गएको जनाउँदै समयमै यसको अध्ययन अनुसन्धानसहित सूचीकृततर्फ ध्यान दिन उनले आग्रह गरे।  

त्यसैगरी दामोदर कुण्ड भौगोलिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक हिसाबले महत्व पाएको स्थान भएकाले पनि विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्नुपर्ने उनको भनाइ छ। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्वका पर्यटक ऐतिहासिक, सांस्कृतिक प्राकृतिक सम्पदाको अवलोकनका लागि नेपाल आउने भएकाले आआफ्नो क्षेत्रमा रहेका सम्पदाको खोजी र संरक्षणमा महत्वपूर्ण हुने  बताए। नाट्टा गण्डकीले आफ्नो प्रदेशको सम्पदाको खोजी र सूचीकृतका लागी देखाएको चासो प्रसंशनीय रहेको जनाउँदै सम्पदा संरक्षणमा परिषद्ले पनि हातेमालो गरेर अघि बढ्ने उनले बताए। 

नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रदेशका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक धार्मिक, भौगोलिक महत्व राख्ने सम्पदाको खोजी गरेर गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने धारणा राखे। 
 

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्