Kathmandu Press

टुँडालदेवीलाई खटमा राखेर मध्यराति लगियो भाटभटेनी

काठमाडौं, वैशाख ७ : काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ।खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई...
टुँडालदेवीलाई खटमा राखेर मध्यराति लगियो भाटभटेनी

काठमाडौं, वैशाख ७ : काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ।

खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ । यसअघि मङ्गलबार दिउँसो लावा छरेर जात्रा गरिएको थियो । लावासहितको जात्रापछि भाटभटेनी मन्दिरमा यस क्षेत्रका महिलाको समूह निशा पुचः ले दुई घण्टा विशेष पूजा गरेको महानगरपालिका–५ का अध्यक्ष एवं जात्रा सञ्चालन समितिका अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। 

Hardik ivf

टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि हाँडीगाउँ क्षेत्रमा जात्रा सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको थियो।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरूपमा गरिन्छ। जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ । भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल अर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुनका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ । त्यसै समयदेखि हराएको गहना खोज्न यो जात्रा सुरु भएको विश्वास गरिन्छ। 

प्रकाशित मिति: ११:०७ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्