Kathmandu Press

‘खेलकुदको महत्व बढ्दै गएको छ’

‘खेलकुदको महत्व बढ्दै गएको छ’

गण्डकी, वैशाख ७ : गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने सहायक प्रशिक्षक तालिमको समापनमा उनले खेलकुदको बढ्दो महत्वलाई दृष्टिगत गरी गण्डकी विश्वविद्यालयको स्थापनासँगै नेपालमा नै पहिलोपटक स्नातक तहमा खेलकुदको पाठ्यक्रमलाई अघि बढाइएको बताएका हुन्। 

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रशिक्षकबिनाको खेलकुदको कल्पनासमेत गर्न नसकिने बताए । उनले आधुनिक खेलकुदमा मुढेबल लगाएर खेल जित्छु भन्नु केवल सपनामात्रै भएको बताए। दक्ष प्रशिक्षक तयार गर्नका लागि प्रदेश खेलकुद परिषद्को गठन भएसँगै प्रशिक्षण कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै उनले विद्यालयका खेलकुद शिक्षकलाई समेत यस्तै प्रकारको तालिम दिइने जानकारी दिए। 

Hardik ivf

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम ढकाल, खेलाडी खड्गबहादुर रानाभाट, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, तालिम संयोजक कृष्ण तिमिल्सिना, प्रशिक्षार्थीद्वय लेखनाथ लम्साल र अरुणा शाहीले खेलकुदको विकासमा प्रशिक्षणको महत्वलगायत विषयमा आ–आफ्ना धारणा राखे । उनीहरूले पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। 

गत पुस ७ गतेदेखि सञ्चालित तालिममा नेपाली सेनाका अधिकृतसहित  नौ जिल्लाका ११३ जना सहभागी थिए । तालिममा विभिन्न २० खेलका प्रशिक्षार्थी सहभागी थिए । तालिममा खेलविज्ञ डा प्रकाश प्रधान, प्रा डा रामकृष्ण महर्जन, डा पदम खड्का, डा खड्गसिंह गुरुङ, पार्थसारथी सेन गुप्ता, इन्द्र गुरुङ, रीता प्रजापति, आशिष आचार्य, दिवाकरलाल अमात्य, मधुसुदन सवेदी, सुलोचना सिजाख्वा, डा मनिषकुमार शाह र प्रा पशुपति अधिकारीले प्रशिक्षण दिएका थिए। 

प्रकाशित मिति: १०:५७ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्