महानगरको तालमेल सहमति नजिक, आज फेरि बैठक बस्दै
काठमाडौं, वैशाख ७ : सत्तारुढ पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको छ। आज बिहान बैठक बसेर टुंग्याइने भएको छ।गए...
काठमाडौं, वैशाख ७ : सत्तारुढ पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको छ। आज बिहान बैठक बसेर टुंग्याइने भएको छ।
गए राति १ बजेसम्म भएको छलफलमा महानगरका विषयमा सहमति भएको जनाइएको छ। कांग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगेको बताए।
उनका अनुसार महानगरका विषयमा भागबण्डा मिलेको छ। ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई दिने र बाँकी तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले पाउने सहमति बनेको छ।
काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसको भागमा परेको छ। त्यस्तै, भरतपुर माओवादी, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले पाउने सहमति बनेको छ। उपमेयर अर्को दललाई दिने सहमित बनेको कार्कीले बताए।
यसैगरी, ११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ। त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ।
वीरगञ्ज जसापालाई दिएकाले जनकपुर आफूले पाउनुपर्ने कांग्रेसले दाबी गरेको छ। कांग्रेस र जसपाले जनकपुरमा दाबी गरेपछि गएराति सहमति जुट्न नसकेको जनाइएको छ।
यस विषयमा सहमित जुटाउन आज बिहान ११ बजे फेरि गठबन्धनका शीर्ष नेताको बैठक बस्ने मन्त्री कार्कीले बताए। मंगलबार दुई पटक बैठक बसेको थियो।











