आयोजना तथा कार्यक्रमको पहिचान र कार्यान्वयन गर्न समिति
पोखरा, वैशाख ७: गण्डकी प्रदेश समन्वय परिषद्को बैठकले प्रदेश र स्थानीय तहको साझेदारीमा प्रदेश र स्थानीय गौरवका आयोजना र कार्यक्रम पहिचान र कार्यान्वयन...
पोखरा, वैशाख ७: गण्डकी प्रदेश समन्वय परिषद्को बैठकले प्रदेश र स्थानीय तहको साझेदारीमा प्रदेश र स्थानीय गौरवका आयोजना र कार्यक्रम पहिचान र कार्यान्वयन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको हो। सदस्यमा सम्बन्धित पालिकाको प्रमुख वा अध्यक्ष, अर्थ मन्त्रालयका सचिव, सम्बन्धित विषयगत क्षेत्र हेर्ने मन्त्रालयका सचिव र सदस्य सचिवमा प्रदेश नीति तथा योजना आयोगका सचिव रहने व्यवस्था छ।
बैठकले गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले निर्धारण गरेका क्षेत्रगत लक्ष्यसँग तादम्त्यता हुने र दोहोरोपन नहुने गरी योजना तथा कार्यक्रम सञ्चालन गर्न समन्वय एवं सहजीकरणलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मनमाया पङ्गेनी भट्टराईले जानकारी दिए।
यसअघिका बैठकका निर्णयअनुसार स्थानीय तहले प्रदेश सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने राजस्व रकम दाखिला गर्न अनुरोध गर्ने निर्णयसमेत भएको उनले बताए।
प्रदेश समन्वय परिषद्को अघिल्ला बैठकका निर्णयको कार्यान्वयन स्थितिबारे समीक्षा गरिएको र कार्यान्वयन हुन बाँकी निर्णय कार्यान्वयनका लागि सचिवालयमार्फत पहल गर्ने निर्णय भएको छ। बैठकमा सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ ले व्यवस्था गरेका विषयमा छलफल गरिएको थियो। (रासस)












