मन्दिरबाट चोरिएका मूर्तिहरू सहित २ जना पक्राउ
काठमाडौं, वैशाख ६ : नागार्जुन नगरपालिका ७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका...
काठमाडौं, वैशाख ६ : नागार्जुन नगरपालिका ७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका ४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका ४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेका छन्।
नागार्जुन नगरपालिका ६ फस्कुस्थित सडकमा एकजना पुरुष व्यक्तिले बोराभित्र चोरीका सामानहरु बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उमेश खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरु लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा उक्त मूर्तिहरु इन्द्रायणी मन्दिरबाट कान्छा मगर समेतको मिलेमतोमा चोरी गरेको खुल्न आएपछि कान्छा मगरलाई समेत काठमाडौं महानगरपालिका १५ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर चोरी तथा डाँका गर्न नहुने कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भईरहेको छ।












