नेपालको विकासमा सहयोगी बन्नोस् : राष्ट्रपति भण्डारी
काठमाडौं, असोज २८ : गैर आवासीय नेपाली संघ (एनआरएन)को नवौ विश्व सम्मेलन काठमाडौंमा सुरू भएको छ। विश्वका ८१ देशबाट झन्डै दुई हजार पाँच सयभन्दा बढी एनआरए....

काठमाडौं, असोज २८ : गैर आवासीय नेपाली संघ (एनआरएन)को नवौ विश्व सम्मेलन काठमाडौंमा सुरू भएको छ। विश्वका ८१ देशबाट झन्डै दुई हजार पाँच सयभन्दा बढी एनआरएनका सदस्यहरु सहभागी भएका छन्।
‘नेपालका लागि नेपाली’ भन्ने नाराका साथ सुरू भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएले नेपाललाई विश्वभरि चिनाएको उल्लेख गर्दै अब नेपालको विकासमा सहयोगि बन्नु पर्ने बताइन्।
राष्ट्रपति भण्डारीले एनआरएनएले विश्वभरबाट प्रविधि र ज्ञान भित्र्याउन र देशको आर्थिक विकासमा लाग्न आह्वान समेत गरिन्। ‘अहिले नेपालमा लगानी आवश्यक भएको छ, यसमा एनआरएनको भुमिका महत्वपूर्ण भूमिका हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको विकासको चाहना पूरा गर्न एनआरएनको आवश्यकता पर्ने भएकोले नेपाल सरकारले सहकार्य गरिररहेको बताए। एनआरएनएले नेपालको हरेक दुःखमा साथ दिएको प्रसंग उल्लेख गर्दै नेपालको समृद्धिको अभियानमा अझै ठूलो साथ, ज्ञान र प्रविधि ल्याउने परराष्ट्रमन्त्री ज्ञवालीले आशा व्यक्त गरे।
अहिले नागरिकतासम्बन्धी विधेयक संसदमा संशोधनका लागि प्रस्ताव पेश गरिसकेको उल्लेख गर्दै यसले एनआरएनएलाई नेपालको महत्व दिलाउने बताए। ‘नेपालमा स्थायित्वबाट उच्च आर्थिक बृद्वि र समृद्धिको नारामा एनआरएनएको सहयोग हुनेमा ढुक्क छौ,’ मन्त्री ज्ञवालीले भने।
एनआरएनएमार्फत लगानि भित्र्याउने र धेरैभन्दा धेरै पर्यटक भित्रिनमा सहयोय गर्ने अपेक्षासमेत रहेको मन्त्री ज्ञवालीले बताए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले नेपालमा लगानी भित्र्याउन एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने बताइन। उनले महासंघ र एनआरएनएको सहकार्य जारी रहेको र अगामी दिनमा झनै सहकार्य बढ्दै जाने बताइन।
कार्यक्रममा बोल्दै एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले दोस्रो पुस्ताका हजारौं नेपाली नागरिकताविहीन भएकाले सरकारले यसमा सहज बतावरण बनाउन आग्रह गरे। एनआरएनको सीप र प्रविधि भित्र्याउने अझै वातावरण तयार नभएकाले यसमा सहजीकरण गर्न अध्यक्ष घलेले सरकारसँग आग्रह गरे।
कार्यक्रम बोल्दै एनआरएनएका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिको यात्रामा सधै एनआरएनको साथ रहने बताए।











