संसद्लाई जीवन्त र जनमुखी बनाउन सकिन्छ : सभामुख
काठमाडाैं, वैशाख ६ : सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आआफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन्। लुम्बिनी प्रदेशसभाद्वारा आज यहाँ आयोजित...
काठमाडाैं, वैशाख ६ : सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आआफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन्।
लुम्बिनी प्रदेशसभाद्वारा आज यहाँ आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, 'आआफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ।'
सभामुख सापकोटाले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष र समस्या समाधानका लागि आफू लागिपरेको बताए।
उनले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताए। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमलगायतले संसदीय अभियासलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिए।
आज (मंगलबार) देखि सुरू भएको सो अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्नेछन्।
उनीहरुबीच प्रदेशसभा सञ्चालनका अनुभव, सभालाई कसरी मर्यादित र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया हुनेछ।
आयोजक लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहजीकरण गर्नुभएका सो कार्यक्रमको संश्लेषणात्मक प्रतिवेदन तयार गर्न गठित मस्यौदा समितिले अन्तरक्रियामा उठेका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ।












