नेपाली कला र सस्कृति युरोपमा फैलाउनु मेरो अभियान
२४ वर्षदेखि बेल्जियममा बस्दै आएका व्यवसायी पदम गुरुङ सुरुआतदेखि नै प्रवाशी नेपालीको संघ/संस्थामा आवद्ध हुँदै आएका छन्। उनी गैरआवासीय नेपाली महासं....

२४ वर्षदेखि बेल्जियममा बस्दै आएका व्यवसायी पदम गुरुङ सुरुआतदेखि नै प्रवाशी नेपालीको संघ/संस्थामा आवद्ध हुँदै आएका छन्। उनी गैरआवासीय नेपाली महासंघ (एनआरएन) युरोपका संस्थापक सदस्य पनि हुन्। विदेशमा बसे पनि उनको नेपालसँगको नाता झन बलियो बन्दै आएकाे छ।
उनले नेपालमा स्कुल, स्वास्थ्य चौकी भवन निर्माणलगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन्। मंगलबार सुरु हुने एनआरएनको नवौ विश्वसम्मेलन तथा अधिवेशनमा सहभागि हुन उनी अहिले काठमाडौं आएका छन् । गुरुङ एनआरएनको युरोप संयोजकका उम्मेदबार हुन्। उनीसँग काठमाडौं प्रेसले गरेको कुराकानी :
तपाईको उम्मेद्वारी किन?
म बेल्जियममा बसेको २४ वर्ष भयो। बेल्जियममा एनआरएन स्थापना गर्ने सिमित व्यक्तिमध्ये म पनि हुँ। त्यसयता एनआरएनका विभिन्न जिम्मेवारीहरु लिएर काम गर्दै आएको छु। म एनआरएन बेल्जियमको सदस्य, सल्लाहकार र उपाध्यक्षहुँदै अहिले २०१९-२०२१ कार्यकालको लागि युरोप संयोजकको रुपमा उम्मेद्वारी दिएको छु। मेरो उम्मेद्वारीको मुख्य उद्देश्य युरोपमा नेपालको पर्यटन प्रवद्धन गरेर बढीभन्दा बढी युरोपियनलाई नेपाल पठाउने र नेपालमा लगानी गर्न उनीहरुलाई प्रोत्साहन गर्ने हो।
तपाईले युरोप संयोजकको रुपमा उम्मेद्वारी दिँदै हुनुहुन्छ, युरोपका लागि एनआरएनले गर्नुपर्ने कामहरु के-के छन्?
सरकारले अहिले समृद्ध नेपालको अभियान ल्याएको छ। त्यसलाई नै सशक्त रुपमा सहयोग गर्नु एनआरएनको प्रमुख दायित्व हो। सरकारले घोषणा गरेका कार्यक्रमलाई सहयोग गर्नुपर्छ। सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै छ। त्यसका लागि पनि हामीले अझ धेरै भूमिका खेल्नुपर्छ कि भन्ने मलाई लाग्छ। मेरो उम्मेद्वारी भनेको नै युरोपबाट बढिभन्दा बढी पर्यटक भित्र्याउन सहयाेगीकाे भूमिका खेल्ने हाे। र त्यसका साथै विदेशमा रहेका साथिहरुलाई नेपालसँग जोडिराख्ने गरी विभिन्न गतिविधिहरु गर्ने, सरकार र नीजि क्षेत्रसँग सहकार्य गरेर लगानी प्रवद्धन गर्नेलगायतका काम एनआरएनले गरेको पनि छ र आगामी दिनमा अझै प्रभावकारी रुपमा अघि बढ्नु पर्छ। त्यसका लागि एनआरएन युराेप नेतृत्व गर्नुपर्छ भन्ने लागेकाे छ।
नेपालको पर्यटन प्रवर्द्धनमा तपाईहरुले अहिले कस्ताे भूमिका खेलिरहनु भएको छ त?
हामीले युरोपियन देशहरुमा हरेक तीन-तीन महिनामा नेपालमा कसरी पर्यटक ल्याउन सकिन्छ? लगानीमैत्री वातावरण कसरी तयार गर्न सकिन्छ? भनेर कार्यक्रमहरुको आयोजना गर्दै आइरहेका छौं। अब त्यस्ता कार्यक्रमहरुलाई युरोपभरी विस्तार गर्नुपर्छ। नेपाली कला र संस्कृतिलाई युरोपमा फैलाउनु मेरो अभियान हो। र मैले त्यही अभियानलाई निरन्तरता दिनेछु।
भिडियो वार्ता
तपाई लामो समय युरोपमा बस्नु भएको छ। युरोपियनहरु नेपाल आएर के हेर्न मन पराउँछन?
नेपालमा युरोपियन देशका पर्यटकहरु आउनुको मुख्य उद्देश्य यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गर्न नै हो। त्यसका साथै यहाँको बहुल कला संस्कृतिप्रति पनि उनीहरुको आकर्षण देखिन्छ।
एनआरएनले नेपालको पर्यटन प्रवर्द्धन र लगानी भित्राउन कसरी काम गरिरहेको छ? र के सुधार गर्नुपर्छ?
एनआरएनको स्थापनापछि नेपालमा लगानी निकै बढेको छ। एनआरएन साथीहरुले यहाँका विभिन्न क्षेत्रमा लगानी गरेर धेरैलाई रोजगारी दिलाएका छन्। नेपालको कला र सस्कृतिलाई विश्वमा चिनाउने दूतको रुपमा पनि एनआरएनले काम गरिरहेको छ।
एनआरएन भित्र पनि सबल र दुर्बल पक्षहरु छन्, तपाई युरोप संयोजकमा निर्वाचित हुनुभयो भने के के गर्नुहुन्छ?
म निर्वाचित भएको खण्डमा युरोप भित्र भएका एनआरएनका आईसिसि सदस्यहरुलाई सक्रिय रुपमा काम गर्ने वातावरण बनाउँछु। उनीहरुलाई काम दिएर कामप्रति जिम्मेवारी बनाउनु पर्छ। अहिले उनीहरु त्यति सक्रिय छैनन्। म उनीहरुलाई सक्रिय बनाएर एनआरएनको उद्देश्य पूरा गर्नतर्फ अग्रसर हुन्छु।
अबको एनआरएन कस्तो हुनुपर्छ?
अहिले जति पनि एनआरएन साथीहरु हुनुहुन्छ सबै जना एनआरएनभित्रै काम गरेका पोख्त ब्यक्तिहरु हुनुहुन्छ। वास्तवमा हाम्रो अबको नेतृत्व भनेको हिजोको दिनमा गर्न नसकेको बाँकि काम पूरा गर्न सक्ने खालको हुनुपर्छ। एनआरएन भित्रका विगतका कमजोरीहरु सच्चाएर नयाँ सोचका साथ काम गर्न सक्ने नेतृत्व हामीले छान्नु पर्छ।
.jpg)
सामाजिक क्षेत्रमा तपाईको संलग्नता के-केमा छ?
मैले नेपालमा बृद्धाश्रमहरु निर्माण गरेको छु। युवाहरुलाई खेलकुदमा सक्रिय बनाउन विभिन्न क्षेत्रमा फुटबल ग्राउन्ड बनाएको छु। कतिपय विजुली नभएको ठाउँमा सोलार जडान गरेर उज्यालो पनि बनाएकाे छु। अहिले मैले जाजरकोटमा स्वास्थ्य चौकी बनाउने काम अघि बढाएको छु। बास्तवमा हामी विदेशमा रहेर पनि सामाजिक क्षेत्रमा नेपालमा नै काम गरिरहेका छौ।











