भेनेजुएला संकटः अमेरिकी राजदुतले भेटे प्रधानमन्त्री
काठमाडौं, माघ २२ : अमेरिकी राजदुत र्यान्डी बेरीले मङ्गलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
यसअघि सरकारल....
काठमाडौं, माघ २२ : अमेरिकी राजदुत र्यान्डी बेरीले मङ्गलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
यसअघि सरकारले नेपालस्थित विदेशी कूटनीतिज्ञहरुसँग गरेको छलफलमा अनुपस्थित रहेका अमेरिकी राजदुत बेरीले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आकस्मिक भेट गरेका हुन् । राजदुत र प्रधानमन्त्रीबीच के विषयमा छलफल भएको हो भन्ने बारे प्रधानमन्त्री सचिवालयले बताउन चाहेन ।
सत्तारुढ नेकपा र सरकारले भेनेजुएलाका वर्तमान राष्ट्रपतिलाई समर्थन गरेपछि अमेरिका नेपालसँग रुष्ट छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सरकार दुबैले भेनेजुएलामा भएको पछिल्लो राजनीतिक घटनाका विषयमा त्यहाँका वर्तमान राष्ट्रपतिको पक्षमा खुलेर विज्ञप्ति जारी गरेका थिए ।
भेनेजुएला संकटको विषयमा दाहालको विज्ञप्ति आएपछि अमेरिकाको स्टेट डिपार्टमेन्टको दक्षिण एसिया शाखाले वाशिङ्टान डीसीस्थित नेपाली राजदुत अर्जुन कार्कीलाई बोलाएर सोधपुछ गरेको थियो । यता अमेरिकी दुतावासले पनि परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै भेनेजुएलाको विषयमा धारणा स्पष्ट पार्न भनेको थियो । त्यसलगत्तै सरकारले पनि दाहालकै अडान दोहोर्याएको छ, तर शिष्ट र कूटनीतिक भाषामा ।
अमेरिका लगायतका अधिकांश पश्चिमा मुलुकहरुले भने भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो विरोध गर्दै विपक्षी नेता हुँवा गुइएदो पक्षमा खुलेर देखिएका छन् ।






