महानगरको तालमेल मिलाउन गठबन्धनको बैठक बस्दै
काठमाडौं, वैशाख ६ : स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको तालमेलका विषयमा सहमति गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको छ।प्रधानमन्त्री निवास...
काठमाडौं, वैशाख ६ : स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको तालमेलका विषयमा सहमति गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ः३० बजे गठबन्धनको बैठक बस्न लागेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। महानगर र उपमहानगरको मेयर तथा उपमेयर लगायत वडाध्यक्षको टुंगो लगाउने तयारी गरिएको कार्कीको भनाइ छ।
सोमबार पनि दुई पटक गठबन्धनको बैठक बसेको थियो। दुवै पटक बसेको बैठकमा सहमति जुट्न सकेको थिएन।
६ वटा महानगरमध्ये तीन वटा महानगरमा कांग्रेसलाई मेयर दिने र बाँकी तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई दिने विषयमा छलफल चलिरहेको छ। त्यहिअनुसार, उपमहानगरको मेयर र उपमेयर दिन विषयमा पनि छलफल भइरहेको मन्त्री कार्कीले बताए।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ। त्यसका लागि निर्वाचन आयोग वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
त्यसअघि उम्मेदवार तय गर्न गठबन्धनका दल छलफलमा जुटिरहेका छन्।











