Kathmandu Press

इन्धनको खपत २० प्रतिशतले कटौती गर्न अर्थ मन्त्रालयले दियो निर्देशन

इन्धनको खपत २० प्रतिशतले कटौती गर्न अर्थ मन्त्रालयले दियो निर्देशन

काठमाडौं, वैशाख ५ : अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय तथा सार्वजनिक संघसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ। 

मन्त्रालयले सोमबार सूचना जारी गर्दै चालु आर्थिक वर्षका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो। विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि इन्धन कटौतीको व्यवस्था लागू नहुने पनि मन्त्रालयले प्रष्टाएको छ । 

बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको भन्दै सरकारले गत चैत ३० गते इन्धन शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय गरेको थियो। विद्युतको प्रयोगलाई बढावा दिँदै इन्धनको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले चालु आवको प्रतिस्थापन बजेटमा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो। 

छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीको इन्धन सुविधा पनि २० प्रतिशतले कटौती गर्न मन्त्रालयले अनुरोध गरेको छ। इन्धन कटौतीको व्यवस्था असार मसान्तसम्म लागू हुने अर्थमन्त्रालयका प्रवक्ता डुण्डीप्रसाद निरौलाले जानकारी दिए। 

इन्धन कटौती निर्णय पालना भए नभएको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने पनि जनाईएको छ । 

प्रकाशित मिति: २०:४० बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्