प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना प्रहरीको फन्दामा
काठमाडौं, वैशाख ५ : प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय,...
काठमाडौं, वैशाख ५ : प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय, निर्देशन र आदेश विपरीत क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेका तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका १ घर भएका काठमाडौं सोह्रखुट्टे बस्ने २२ वर्षका अनुप मिश्र, काभ्रेपलान्चोक पनौती नगरपालिका १ का २४ वर्षीय दिपेश थापा र काठमाडौं १३ बाफलका २७ वर्षीय राहुल चचान रहेका छन्।
नेपालमा प्रतिबन्धित रहेको क्रिप्टो करेन्सी बिटक्वाइन लगायतका बिभिन्न करेन्सीहरुको अवैध कारोबारमा सक्रिय रहेका उनीहरुलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यू रोड र कलंकीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरुले प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरी अनुसन्धान गर्दा उनीहरुले हालसम्म ६६ करोड ७९ लाख ७९ हजार नौ सय त्रियासी रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको प्रहरीले जनाएको हो। उनीहरुले दैनिक पाँच हजार देखि ५० हजारसम्म कारोबार गर्ने गरेका थिए।












