९१ आरोही समूहका ७४० आरोहीलाई हिमाल चढ्न अनुमति
काठमाडाैं, वैशाख ५ : यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन्।संस्कृति, पर्यटन तथा नागरिक...
काठमाडाैं, वैशाख ५ : यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो। हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ आरोही समूहका २६२ आरोहीले अनुमति लिएका छन्।
विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्रै ३२ समूहका २६२ आरोहीले अनुमति लिएका छन्।
त्यस्तै, माउन्ट ल्होत्से (८,५१६ मिटर) आरोहणका लागि १० समूहका ९४ आरोहीले अनुमति लिएका छन्। अमादब्लम ९६,८१४ मिटर० आरोहणका लागि छ समूहका ६५ आरोहीले अनुमति पाएका छन्। कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहणका लागि छ समूहका ६७ आरोहीले अनुमति लिएका छन्। नुप्त्से (७,८५५ मिटर) मा पाँच समूहका ३८ आरोही छन्।
त्यसैगरी अन्नपूर्ण (८,०९१ मिटर) आरोहणका लागि चार समूहका २६, धौलागिरि (८,१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन्।
मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हिमाल आरोहणबाट हालसम्म रु ३९ करोड ५२ लाख ३१ हजार ५२ रोयल्टी उठेको छ।











