Kathmandu Press

निवर्तमान सभामुख महरालाई अस्पतालबाटै अदालत लग्ने तयारी

काठमाडौं, असोज २७ : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पतालबाटै अदालत लग्ने प्रहरीले तयारी गरेको छ।

बलात्कार आरोपमा पक्राउ परेका महराला....

निवर्तमान सभामुख महरालाई अस्पतालबाटै अदालत लग्ने तयारी
फाइल फोटो

काठमाडौं, असोज २७ : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पतालबाटै अदालत लग्ने प्रहरीले तयारी गरेको छ।

बलात्कार आरोपमा पक्राउ परेका महरालाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराउने तयारी गरिएको थियो। तर, पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा सोमबार अदालत बन्द रहेको थियो।

त्यसैले, निवर्तमान सभामुख महरालाई मंगलबार जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको छ। उनलाई मंगलबार अस्पतालबाटै सिधै अदालतमा पेश गरिने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए। उनका अनुसार, अदालतबाट थुनामा राख्ने म्याद थप गरिनेछ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महरालाई असोज १९ गते पक्राउ गरिएको थियो। तर, त्यसयता दशैं विदाले अदालत बन्द रहेका छन्। सोमबार पनि शोकमा अदालत बन्द गरिएपछि प्रहरीले थुनामा राख्न म्याद थप गर्न सकेको छैन।

उनी असोज २३ गतेदेखि अस्पतालमा छन्। प्रहरी हिरासतमा बिरामी परेपछि उनलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना गरिएको थियो। उनी पाँच दिनयता नर्भिकमै छन्।

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, असोज २७, २०७६