Kathmandu Press

किसान मतदाताका गुनासो : सिँचाइ छैन, मल बीउ पाइँदैन

गलेश्वर, वैशाख ५ : स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता...
किसान मतदाताका गुनासो : सिँचाइ छैन, मल बीउ पाइँदैन

गलेश्वर, वैशाख ५ : स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन्। राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन्।

गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगाउने, बार–थाँक्रा हाल्ने, सिँचाइका लागि पानीको जोहो गर्ने काममा किसान व्यस्त छन् । राजनीतिक दलका नेता चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानलाई भने उनीहरुलाई भेट्न र भलाकुसारी गर्न फुर्सद छैन । ‘हाम्रा समस्या जस्ताका त्यस्तै छन्, सिँचाइ नभएर बाली मरेको छ, धारामा खानेपानी आउँदैन, चुनाव आउँछ, नेता आउँछन्, आश्वासन दिन्छन्, जान्छन्,’ बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटा भन्छन्। 

Hardik ivf

शनिबार आँगनमा गहुँ चुट्दै गरेका सापकोटाले गाउँमा सडक र सञ्चारको विकास भए पनि कृषि क्षेत्रमा भने खासै उपलब्धि हुन नसकेको बताए। 

‘अहिले तीन तहको सरकार छ । स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानका लागि त्यस्तो महशुस हुन सकेको छैन,’ सापकोटाले भने, ‘समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन, असिना पानी, बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन, त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले छुँदैन।’

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तहमा ४५ वडा छन् । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाबाहेक अन्य सबै पालिका र वडा ग्रामीण क्षेत्र हुन्। यहाँका ९० प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्र र कृषि पेशासँग आबद्ध छन्। 

किसानलाई चुनावप्रति वितृष्णा जाग्नुका कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताले दिएको आश्वासन पूरा गर्न नसक्नु पनि भएको रघुगङ्गा गाउँपालिका–४ का चित्रबहादुर पुर्जाले बताए।

किसानलाई चुनावकोभन्दा बढी चिन्ता गहुँबाली भित्र्याउने, मकै छर्ने, गोडमेल गर्ने र कतैकतै चैते धान रोप्नेको छ । उनीहरुले आफूहरुका लागि कामभन्दा ठूलो चुनाव नहुने बताएका छन् । बगरफाँटका कृषक टीकाबहादुर कार्की भन्छन्, ‘समय भयो भने भोट हाल्न जानुपर्ला तर, भाषण सुन्ने र उनीहरु नेतासँग हिँड्ने फुर्सद मलाई छैन।’

‘अधिकांश मतदाता गाउँमा छन्, गाउँमा कामको चटारो छ, हामी किसानका खेतबारीमा नै गएर आफ्ना कुरा सुनाउँछौँ, केही दिनपछि काम पनि कम होला र प्रचार अभियानले पनि गति लेला,’ कार्कीले भने।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्