Kathmandu Press

सांसद आलमको सेवासुविधा रोक्का, अदालतको फैसला नआएसम्म निलम्वन नहुने

काठमाडौं, असोज २७ : पाँच जना भारतीय नागरिकलाई इटा भट्टामा जलाएको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमको सेवा सुविधा रोक्का गरिएको छ।....

सांसद आलमको सेवासुविधा रोक्का, अदालतको फैसला नआएसम्म निलम्वन नहुने

काठमाडौं, असोज २७ : पाँच जना भारतीय नागरिकलाई इटा भट्टामा जलाएको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमको सेवा सुविधा रोक्का गरिएको छ। उनको सांसद पद भने निलम्वनमा परेको छैन।

सोमबार संघीय संसदको सचिवालयका सचिव डा.भरतराज गौतमले सूचना जारी गरी उनी पक्राउ परेको जानकारी दिएका छन्। उनले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई जानकारी गराएका हुन्।

संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय, रौतहट गौरको प.सं. ०७६/७७ च.नं. १०८६ मिति २०७६/०६/२६ गतेको प्राप्त पत्रबाट कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलिसिलामा संघीय संसद, प्रतिनिधि सभामा रौतहट जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सदस्य श्री मोहम्मद आफताब आलमलाई श्री रौतहट जिल्ला अदालतबाट मिति २०७६/०६/२६ गते पक्राउ गर्न अनुमति प्राप्त भए अनुरुप रौतहट जिल्ला राजपुर नगरपालिका वडा नं. १ स्थित ईद्रिस गेटबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम प्रतिनिधि सभाका माननीय उपसभामुखलाई जानकारी गराइएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (३) को प्रयोजनको लागि सोही नियमावलीको नियम २४४ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’

यो सूचना प्रकाशित भएसँगै सांसद आलमको सेवा सुविधा रोक्का भएको छ। उनले थुनामा रहेको अवधिमा संसदको हैसियतमा कुनै कार्य गर्न पाउने छैनन्। त्यस्तै, उनलाई कुनै अधिकार दिइने छैन। उनको पारिश्रमिक, सेवा र सुविधा पनि रोक्का भएको छ।

तर, संसद नियमावली अनुसार, उनीको संसद पद भने निलम्बन भएको छैन। प्रतिनिधिसभाको नियमावली २०७५ मा सांसद पक्राउ पर्दा निलम्वन गर्ने व्यवस्था गरिएको छैन। यस अघि भने पक्राउ पर्दा स्वतः निलम्वनमा पर्ने व्यवस्था रहेको थियो।

नयाँ व्यवस्था अनुसार, अदालतले दोषी ठहर गरेपछि मात्रै उनको संसद पद निलम्वनमा पर्नेछ।

यस्तो छ प्रतिनिधिसभा नियमावलीको धारा २४४ मा भएको व्यवस्था :

सदस्यको  पक्राउ  सम्बन्धी  जानकारी :  (१)  संविधानको  धारा  १०३  को  उपधारा  (६)  को प्रतिबन्धात्मक  वाक्यांश  बमोजिम  कुनै  सदस्य  पक्राउ  गरिएको  सूचना  प्राप्त  भएमा  सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ। 

(२)  बैठक  नचलेको  अवस्थामा  उपनियम  (१)  बमोजिमको  सूचना  प्राप्त  भएमा  सभामुखले सचिवालयको सूचनापाटीमा सो को सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ।

(३)  संविधानको  धारा  १०३  को  उपधारा  (६)  को  प्रतिबन्धात्मक  वाक्यांश  बमोजिम  कुनै सदस्यलाई  फौजदारी  अभियोगमा  पक्राउ  गरिएको  जानकारी  प्राप्त  भएमा  त्यस्तो  सदस्यलाई  प्रहरी हिरासतमा  रहेको  अवस्थामा  वा  प्रचलित  कानून  बमोजिम  तीन  वर्ष  वा  सो  भन्दा  बढी  कैदको सजाय  हुने  वा  नैतिक  पतन  देखिने  फौजदारी  मुद्दामा  अभियोगपत्र  दायर  भई  निज  पूर्पक्षको  लागि थुनामा  रहेकोमा  त्यस्तो  थुनामा  रहेको  अवधिभर  निजलाई  सदस्यको  हैसियतले  कुनै  कार्य  गर्न  वा कुनै  अधिकार  वा  उन्मुक्ति  प्राप्तहुनेछैनरत्यस्तोअवधिभरनिजको  पारिश्रमिक,  सेवा  र  सुविधा स्थगित हुनेछ ।  (४)  कुनै  सदस्यलाई  फौजदारी  मुद्दामा  अदालतको  अन्तिम  फैसलाले  कैदको  सजाय  हुने ठहर  भएकोमा  त्यस्तो  कैदमा  बस्नु  पर्ने  अवधिभर  वा  कुनै  सदस्यले  फौजदारी  मुद्दामा  अदालतको फैसला  बमोजिम  कैदको  सजाय  भुक्तान  गरिरहेकोमा  सो  अवधिभर  त्यस्तो  सदस्य  स्वतः  निलम्वन भएको मानिनेछ।

सांसद आलमलाई आइतबार पक्राउ गरिएको थियो। २०६४ को संविधानसभा निर्वाचनका क्रममा बम बनाउनका लागि भारतबाट मान्छे ल्याएको प्रहरीको अनुसन्धान देखिएको थियो। बम बनाउदा विस्फोट भएपछि पाँच जना घाइते भएका थिए। उनीहरुको परिचय खुल्ने भएपछि इटा भट्टामा लगेर जलाएको उनलाई आरोप लागेको छ।

त्यहि घटनामा जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको थियो। उनी पक्राउ परेका थिएनन्। सर्वोच्च अदालतले पनि तत्काल पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो।

उनी भारतमा बस्दै आएका थिए। दशैंवेला घर आएको मौका छोपेर प्रहरीले पक्राउ गरेको हो।

उनी पूर्वमन्त्री पनि हुन्। गत निर्वाचनमा उनी रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १४:१० बजे, सोमबार, असोज २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्