प्रधानमन्त्रीले संविधान संशोधनमा चासो नदिए समाजवादी पार्टीले तिहारलगत्तै सरकार छाड्ने
काठमाडौं, असोज २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहँदा अर्को सत्तारुढ दल समाजवादी पार्टीमा भने सरकार छाड्न दबा....
काठमाडौं, असोज २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहँदा अर्को सत्तारुढ दल समाजवादी पार्टीमा भने सरकार छाड्न दबाब बढिरहेको छ ।
पार्टीको आज बस्ने केन्द्रीय पदाधिकारी बैठकमा पनि राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता र सरकारमा सहभागी हुँदा गरिएको दुईबुँदे सहमतिबमोजिम संविधान संशोधनबारे छलफल गर्ने एजेन्डा राखिएको छ ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संविधान संशोधनको विषयलाई अघि नबढाए यसै विषयलाई मुद्दा बनाएर तिहारलगत्तै सरकार छाड्ने र दबाबमूलक आन्दोलन गर्ने यसअघि नै बताइसकेका छन् । डा भट्टराई सरकारका कटु आलाेचक हुन् । उनी तत्काल सरकार छाड्नुपर्ने मत राख्छन् ।
उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव भने मौन छन् । सरकारमा समाजवादीका दुई जना मन्त्री छन् । संविधार संशाेधन गर्ने दुईबुँदे सहमतिपछि तत्कालीन संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा तेस्राे मर्यादा क्रमसहित उपप्रधानमन्त्री भएका थिए ।
राजपाले समाजवादी पार्टीसँगको एकताको शर्तका रूपमा सरकार छाड्नुपर्ने अडान राख्दै आएको छ । समाजवादी पार्टीले सरकार छाडेमा एकताका लागि वातावरण बन्ने राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताएका छन् ।
समाजवादी पार्टीको दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय पदाधिकारीको बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख एवम् डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।
उनका अनुसार, बैठकमा साविक संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीको समायोजनबारे समीक्षा हुनेछ र समायोजनको कामलाई पूर्णता दिनेबारे छलफल हुनेछ । संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि बैठकमा छलफल हुनेछ ।






