Kathmandu Press

भागबन्डाबारे गठबन्धनमा सहमति जुटेन, बैठकबाट बाहिरिए प्रचण्ड 

सोमबार बिहान सवा १० बजेपछि सुरु भएको बैठक तीन घन्टा बसेर केहीबेरका लागि स्थगित भएको छ। बैठक आजै केहीबेर पछि बस्ने बताइएको छ। तीन घन्टासम्म भागबन्डाबारे भने ठोस निर्णय हुन सकेको छैन।
भागबन्डाबारे गठबन्धनमा सहमति जुटेन, बैठकबाट बाहिरिए प्रचण्ड 

काठमाडौं, वैशाख ५ : सत्तारुढ गठबन्धनको बैठक केहीबेरका लागि स्थगित भएको छ। बिहान सवा १० बजेपछि सुरु भएको बैठक तीन घन्टा बसेर स्थगित भएको हो। बैठक आजै केहीबेरपछि पुनः बस्ने बालुवाटार स्रोतले जानकारी दिएको छ। 

आजको बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनबीच भागबन्डा गर्ने विषयमा छलफल भएको छ। तीन घन्टा सम्म चलेको छलफलमा सहमति जुट्न नसकेपछि बैठक केहीबेरका लागि स्थगित गरिएको हो। 

महानगरका सम्बन्धमा एकिकृत समाजवादीले अडान कायम राखेपछि सहमति हुन नसकेको हो। एकिकृत समाजवादी पोखरा महानगरपालिका आफूले पाउनुपर्ने अडानमा छ। कांग्रेस भने पोखरा महानगर एकिकृत समाजवादीलाई नदिने पक्षमा देखिएको छ। त्यस्तै भरतपुरमा पनि सहमति जुटिसकेको छैन। माओवादीले रेनु दाहाललाई नै निरन्तरता दिने बताइरहँदा भरतपुर कांग्रेसमा भने चर्को विरोध उत्पन्न भएको छ। यसबारे केन्द्रबाट सहमति गर्ने भनिएपनि सहमति हुन सकेको छैन। 

जनता समाजवादीले वीरगञ्ज महानगरमा आफ्नो दाबी प्रस्तुत गरेको छ। यस हिसाबमा काठमाडौं, ललितपुर र विराटनगर मात्रै कांग्रेसले पाउने गरी छलफल भएको छ। बैठक स्थगित भएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। १ बजेका लागि तय भएको पत्रकार सम्मेलनका लागि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्। 

पत्रकार सम्मेलन सकिएपछि प्रचण्ड पुनः बालुवाटारको छलफलमा सहभागी हुनेछन्। 

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्