गभर्नर निलम्बन जाँचबुझ समितिले थाल्यो काम
काठमाडौं, वैशाख ५ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जाँचबुझ समितिले आफ्नो काम अगाडि बढाएको छ।चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारलाई...
काठमाडौं, वैशाख ५ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जाँचबुझ समितिले आफ्नो काम अगाडि बढाएको छ।
चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सरकारलाई सहयोग नगरेको, सरकारी सूचना चुहावट गरेकोलगायत आरोप लगाएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो।
डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको जाँचबुझ समितिको गठनसँगै अधिकारी स्वतः गभर्नरको पदबाट निलम्बनमा परेका थिए। उक्त समितिले गठन भएकाे ११ दिनपछि आइतबार जाँचबुझको काम थालेको जनाइएको छ। समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ।
यता निलम्बित गभर्नर अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। सरकारले आफूमाथि गरेको कारबाही गैरकानुनी रहेको र त्यसलाई खारेज गरेर काममा फर्किन पाउनुपर्ने भन्दै उनी सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।











