सुँगुरको मासु खाँदा बिरामी परेका तीन कैदीको मृत्यु
पाँचथर, असोज २७ : सुँगुरको मासु खाएर गम्भीर बिरामी भएका तीन कैदीको उपचारका क्रममा मृत्यु भएको छ।
गए राति थप एक कैदीको उपचारका क्रममा मृत्यु ....

पाँचथर, असोज २७ : सुँगुरको मासु खाएर गम्भीर बिरामी भएका तीन कैदीको उपचारका क्रममा मृत्यु भएको छ।
गए राति थप एक कैदीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राईको उपचारका क्रममा मृत्यु भएको हो।
उनको झापास्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भएको थियो। फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै असोज २० गते राति मृत्यु भएको थियो।
मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको कुम्मायक गाउँपालिका–३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएका थिए। चारै जना बिरामी परेका हुन्। मासुमात्र खाने अरु कैदी भने बिरामी नपरेको उनले बताए।











