पाेखरामा कांग्रेसकाे मेयरमा जेठाजु र उपमेयरमा बुहारीकाे दाबी
कास्की, बैशाख ४ : नेपाली कांग्रेस पोखरा महानगरपालिकाकाे मेयर र उपमेयर पदकाे लागि एउटै घरबाट दाबी परेको छ। मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा)...
कास्की, बैशाख ४ : नेपाली कांग्रेस पोखरा महानगरपालिकाकाे मेयर र उपमेयर पदकाे लागि एउटै घरबाट दाबी परेको छ। मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरमा बुहारी (मिलन थापा) ले नाम टिपाएका हुन्।
उनीहरु दुवै जना महाधिवेशन प्रतिनिधि पनि हुन्। महाधिवेशनकै बेला जेठाजु बुहारीलाई महाधिवेसन प्रतिनिधिमा रोक्ने प्रयास भएता पनि दुवै जनाले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
त्यस्तै, मेयरमा १८ र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन्। उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन्।
मेयरमा रामचन्द्रका छोरीज्वाईं परमेश्वर पोखरेल पनि दाबेदार छन्। उनी हाल पार्टीमा कुनै पनि पदमा छैनन्। गत मंसिरमा भएको १४औं महाधिवेशनअन्तर्गत कास्की सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई र जितेका किशोरदत्त बराल दुवैजना मेयरको आकांक्षी छन्।
व्यवसायीहरू निर्मलप्रसाद कर्मचार्य, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई र किरण केसी पनि प्रमुख दाबेदारका रूपमा छन्। कृष्णबहादुर केसी हालका महासमिति सदस्य तथा कास्कीका निवर्तमान सभापति हुन्।
बाबुराम आचार्य लामो समय सरकारी सेवामा रहेर सचिव पदबाट अवकास पाएका व्यक्ति हुन् भने सरास्वती गुरुङ अघिल्लो चुनावमा उपमेयरमा पराजित भएकी थिइन्।
गंगाधर पराजुली पत्रकारिता हुँदै विभिन्न पदमा रहेर काम गरेपछि राजनीतिमा लागेका हुन्। उनी यसअघि पोखरा महानगरको पार्टी सभापतिमा पराजित भएका थिए।
पुराना नेता नन्दप्रसाद तिवारी र वीरेन्द्रनारायण विजुक्छे पनि दौडमा छन्। कोपिला रानाभाट पार्टीको प्रदेश सहमहामन्त्रीमा कार्यरत छिन् भने ऋषि सापकोटा र विश्व घिमिरे पनि राजनीतिबाटै अघि बढेका हुन्।
उपप्रमुखमा उम्मेद्वारी दिने माया बराल महिला संघ पोखराको सभापति हुन् भने लक्ष्मी पाण्डे निवर्तमान जिल्ला कोषाध्यक्ष हुन्। रंगीला आचार्य जिल्ला उपसभापतिमा निर्वाचित भएकी थिइन्। उपमेयरमा नेताहरू आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ, दिपक मल्ल, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली नाम लेखाए।











