भरतपुर महानगर र चार उपमहानगरकाे नेतृत्वमा माओवादीकाे दाबी
काठमाडौं, वैशाख ४ : माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको उम्मेदवारी आफूले पाउनुपर्ने दाबी गरेको...
काठमाडौं, वैशाख ४ : माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको उम्मेदवारी आफूले पाउनुपर्ने दाबी गरेको छ।
सत्तारुढ गठबन्धनकोस्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको आज (आइतबार) बसेको बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले भरतपुर महानगर र चार उपमहानगरको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको जनाइएको छ।
नेता पुनले काठमाडौं, ललितपुर र विराटनगर गरी तीनवटा महानगरमा मेयर कांग्रेसले लिएर अन्य तीनवटामा अरु दललाई दिनुपर्ने प्रस्ताव गरेको स्रोतले बताएको छ।
उनले भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिनेगरी अघि बढ्नुपर्ने प्रस्ताव राखेको पनि बताइएको छ।
जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको मेयरमा पनि माओवादी केन्द्रले उम्मेदवारी पाउनुपर्ने नेता पुनको प्रस्ताव रहेको बताइएको छ। देशमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन्।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन्। तर कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैन।
सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा समस्या देखिएको छ। चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा सहमति हुन नसकेपछि सोमबार पुनः छलफल गर्नेगरी बैठक टुंग्याइएको थियो।











