पितापुर्खाबाट सिकेको सीप : वार्षिक १० लाखको कारोबार, पाँच व्यक्तिलाई रोजगार
नेपालमा उत्पादन हुने अम्रिसो कहिलेकाहीँ भारतमा पनि निर्यात हुने गर्छ।
काठमाडाैं, वैशाख ४ : मंगलबार (चैत २९) दिउँसो काभ्रेको बेथानचोक गाउँपालिका-२ ढुंखर्कस्थित प्रताप सिङ्तानको घरमा कुचो बनाउन बनाउन व्यस्त थिइन्, स्थानीय ३३ वर्षीया अस्मिता सिङ्तान।
ठूलो थुप्रोबाट छुुट्ट्याइएका अम्रिसोका साना मुठालाई उनले विभिन्न रङका डोरीले बाँधी आकर्षक कुचो तयार गर्दै थिइन्। बिहानदेखि काममा खटिएकी अस्मिताले दिउँसो २ बजेसम्म ५० वटा कुचो तयार गरिसकेकी थिइन्।

उनलाई एउटा कुचो तयार पार्न १० देखि १५ मिनेट लाग्छ। एउटा कुचो तयार पारेबापत उनले ६ रुपैयाँ ज्याला पाउँछिन्। ‘फुर्सद हुँदा जतिखेर आए पनि हुन्छ, त्यसैले पछिल्लो तीन–चार वर्षदेखि यहाँ काम गरिरहेकी छु,’ अस्मिता भन्छिन्, ‘अन्य काम नपाउँदा फुर्सदको समयलाई सदुपयोग गरेकी हुँ।’
अस्मितासँगै अन्य दुई स्थानीय महिला र एक पुरुषले यहाँ कुचो बनाउने काम गरिरहेका छन्। उनीहरुले तयार पारेका कुचोलाई ४० वटाका दरले भारी तयार गर्दै थिए, कुचो व्यवसायी प्रताप सिङ्तानले। ‘साँझ बसमा हालेर काठमाडौं पठाउनु छ, हात अलि छिटो चलाउनू है,’ ५१ वर्षीय प्रतापले कामदारलाई भन्दै थिए, ‘जति धेरै कुचो बनायो, उति फाइदा– तपाईंहरूलाई पनि, मलाई पनि।’
यहाँ तयार भएका कुचो उनले काठमाडौं पठाउँछन्, केही घरबाटै पनि बिक्री हुने गर्छ। प्रतापलाई यस काममा श्रीमती, साइँला छोरा, साइँली बुहारी र कान्छा छोराले सघाउने गर्छन्।
‘पहिले खेतीपाती गर्थ्याैं ,’ प्रताप भन्छन्, ‘सात वर्षअगाडि कुचो बनाउन सिकेँ। वार्षिक रुपमा १० लाख रुपैयाँ बराबरको कुचो बिक्री हुन्छ। यसमा सबै खर्च कटाएर २० प्रतिशतजति फाइदा हुन्छ, घर खर्च पुगेकै छ।’
हामीले कारोबार र नाफाको कुरा गर्दै थियौँ, कुचो बनाउँदै गरेकी सचना गोलेले ठट्टा गर्दै भनिन्, ‘नाफा जति भए पनि दाइले हामीलाई दिने ज्याला बढाउने होइन।’
सचना र उनका श्रीमान् (जनक गोले) छोराछोरीलाई स्कुल पठाएर बिहान ११ बजेदेखि यहाँ काम गर्न आएका हुन्। आएदेखि उनीहरुले २०–२५ वटा मात्र कुचो तयार गर्न भ्याएका थिए। ‘यहाँ कृषि क्षेत्रमा सिजन अनुसार काम पाइन्छ, अन्य बेला काम पाउन गाह्रो छ,’ जनकले भने, ‘उद्योग कलकारखाना नभएकाले काम पाउन मुस्किल छ, त्यसैले जे काम पाइन्छ, त्यही गर्छौं।’

उनी काम पाइन्छ भनेर काभ्रेकै खानीखोला गाउँपालिकाबाट दुई वर्षअगाडि बसाइँ सरेर बेथानचोक गाउँपालिका आएका रहेछन्। खानीखोलामा यातायात, स्वास्थ्य, शिक्षा आदिको अभावसँगै रोजगारीको पनि अभाव भएकाले यहाँ आउनुपरेको जनक बताउँछन्। ‘यहाँ पनि त्यति काम पाइँदैन रहेछ, श्रीमान-श्रीमती मिलेर गुजारा चलाइरहेका छौँ,’ उनले भने।
कुचो व्यवसायी प्रतापले अम्रिसो सिजनका बेला दैखिक पाँचसात जनालाई रोजगारी दिन्छन्। सिजनबाहेक बेला काम कम हुने भएकाले एक–दुई जनालाई मात्र रोजगारी दिन गरेको उनले बताए।
बजार
प्रतापले कुचो व्यवसाय सुरु गरेको सात वर्ष भयो। कुचोका लागि अम्रिसो उनले वरपरका स्थानीयसँग किन्ने गरेका छन्।
नेपालमा उत्पादन हुने अम्रिसो कहिलेकाहीँ भारतमा पनि निर्यात हुने गर्छ। ‘सिजनका बेला भारतमा निर्यात भयो भने हामीलाई महँगो पर्न जान्छ, नत्र त्यति महँगो पर्दैन,’ प्रताप भन्छन्, ‘२० रुपैयाँदेखि एक सय ६० रुपैयाँ किलोसम्ममा अम्रिसो खरिद गर्ने गरेको छु, सुकेको एक किलो अम्रिसोबाट १०–१५ वटासम्म कुचो तयार हुन्छ।’

कुचोको मूल्य पनि भारतमा अम्रिसो निर्यात हुनुसँग सम्बन्धित रहेको उनले बताए। अम्रिसो माघदेखि चैतसम्म फुल्छ। फुलेको अम्रिसो उनले किसानसँग किनेर गोदाममा राख्छन्। अम्लिसो राख्नका लागि घरअगाडि जस्ताले बारेर ठूलो गोदाम बनाएका छन्। ‘कृषकसँग वार्षिक दश हजार किलो अम्लिसो खरिद गर्छु, सिजनमा मात्र अम्लिसो पाइने भएकाले वर्षभरि पुग्ने गरी जम्मा गर्नुपर्छ,’ उनले भने, ‘गोदाममा जम्मा गरेको अम्लिसोबाट माग अनुसार कुचो तयार गरी बजार पठाउँछु।’ एउटा तयारी कुचो ६० रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछन्।
प्रतापले घरमै बुवा–हजुरबाबाट कुचो बनाउन सिकेका थिए। घरायसी प्रयोजनका लागि तयार गरेको कुचो छिमेकीले किन्न थालेपछि उनी यो व्यवसायमा आएका हुन्। ‘अब यही कुचो व्यवसायलाई निरन्तरता दिने र लगानी बढाउने योजना छ,’ उनले भने।











-(86)-1764936079.jpg)
