वालिङ जिप दुर्घटना : मृतक पाँच र घाइते ६ जनाकै सनाखत (अपडेट)
काठमाडौं, वैशाख ४ : स्याङजाको वालिङमा भएको जिप दुर्घटना हुँदा मृत्यु हुने पाँच र घाइते ६ जनाकै सनाखत भएकाे छ। मृतक र घाइते सबै स्याङ्जाको...
काठमाडौं, वैशाख ४ : स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना हुँदा मृत्यु हुने पाँच र घाइते ६ जनाकै सनाखत भएकाे छ। मृतक र घाइते सबै स्याङ्जाको वालिङ नगरपालिका-१२ डाँडाखर्ककै रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ६५ वर्षीय वीर बहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु र ६१ वार्षीया कुलकुमारी कनौजे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिएका छन्।
मृत्यु हुने बालक शर्मीला सारुकै अन्दाजी ६/७ महिनाको छोरा रहेको र नाम खुल्न बाँकी रहेको जनाइएको छ।
घाइते भएका अन्दाजी ५५/६० वर्षीय अंगबहादुर दाला, १९ वर्षीया लक्ष्मी दाला, ५५ वर्षीया माया कुमारी सारु र जीप चालकसमेत रहेका ६० वर्षीय दलबहादुर थापा अवस्था गम्भीर रहेका उनीहरुलाई उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेज अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
अन्य घाइते ३५ वर्षीय योगेन्द्र थापा र १८ वर्षीया नवीना सारुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको जनाइएको छ।
वालिङ नगरपालिका-१२ स्थित माथिल्लो डाँडाखर्कमा ग१ज ७३९९ नम्बरको जिप आज (आइतबार) बिहान १० बजे दुर्घटनाग्रस्त भएको हो। जिप सडकबाट २०० मिटर तल खसेको प्रहरीको भनाइ छ।











