गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलि टुंगो लगाउने
महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाटै गर्ने गठबन्धनको सहमति भइसकेको छ। तर कसकसलाई कहाँकहाँ भन्ने टुंगाे लाग्न बाँकी छ।
काठमाडौं, वैशाख ४ : सत्तारुढ गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलि (सोमबार) सम्म टुंगो लगाउने भएको छ।
प्रधानमन्त्रधी निवास बालुवाटारमा आज (आइतबार) बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले भोलिसम्म सबै महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमार्फत जानकारी दिएका छन्।
गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो।
भोलि बस्ने बैठकमा सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय पनि बैठकले गरेको छ। गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाएको थियो।
‘वालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ,’ मल्लले फेसबुकमा लेखेका छन्।
महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाटै गर्ने गठबन्धनको सहमति भइसकेको छ। तर कसकसलाई कहाँकहाँ भन्ने टुंगाे लाग्न बाँकी छ।
महानगर र उपमहानगरपालिकाबाहेक स्थानीय तहको भागबन्डाबारे टुंग्याउन आइतबार दिउँसो कार्यदलस्तरमा छलफल हुने जनाइएको छ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० र ११ गते मनोनयन दर्ताको मिति तोकेको छ। उम्मेदवारको मनोनयनका लागि अब एक साता मात्रै बाँकी छ।
आकांक्षी धेरै हुँदा दलहरूलाई उम्मेदवार टुंगो लगाउन सकस भइरहेको छ। गठबन्धनले आवश्यकताका आधारमा तलैसम्म गठबन्धन गर्ने भने पनि तालमेल मिलाउने विषय एकदमै पेचिलो बनिरहेको छ।











