Kathmandu Press

मानिस बुढेसकालमा किन कम बोल्छन्? 

उमेर बढ्दै जाँदा अधिकांशको शारीरिक अवस्था खस्कदै जान्छ। तर केहि सामाजिक रूपले पनि सुस्त बन्दै जान्छन्। कतिपय त निकै दिनसम्म मानवीय अन्तर्क्रिया नगरि नै बस्ने गरेका छन्....

मानिस बुढेसकालमा किन कम बोल्छन्? 

उमेर बढ्दै जाँदा अधिकांशको शारीरिक अवस्था खस्कदै जान्छ। तर केहि सामाजिक रूपले पनि सुस्त बन्दै जान्छन्। कतिपय त निकै दिनसम्म मानवीय अन्तर्क्रिया नगरि नै बस्ने गरेका छन्। 

बेलायतका ज्येष्ठ नागरिक सहभागी सर्वेक्षणले बुढ्यौलीको यो दुखद तर सत्य प्रभावमाथि प्रकाश पारेको छ। सर्वेक्षण अनुसार हजारौं ज्येष्ठ नागरिकहरू कसैसँग नबोली एक सातासम्म बस्ने गरेका छन्।

संयुक्त अधिराज्यका ६५ वर्षभन्दा माथि उमेर भएका एक हजार आठ सय ९६ जना सहभागी सर्वेक्षणमा पाँचमध्ये एकभन्दा धेरै (२२ प्रतिशत) ले एक साताभरिमा तीन जनाभन्दा धेरैसँग कुरा नगर्ने देखिएको छ। यसको अर्थ झण्डै २६ लाख ज्येष्ठ नागरिक दैनिक जीवनमा नियमित मानवीय सम्पर्कमा हुँदैनन्। 

चिन्ताको कुरा त के छ भने दुई लाख २५ हजार ज्येष्ठ नागरिक एक सातासम्म आमुन्नेसामुन्ने बसेर कसैसंग पनि कुराकानी गर्दैनन्।

“कसैलाई हेलो वा सञ्चै हुनुहुन्छ भनेर सोध्नु हामीमध्ये धेरैका लागि औपचारिकता मात्रै हो। दैनिक जीवनको पाटो मात्रै हो । तर पछिल्लो तथ्याङ्कले संयुक्त अधिराज्यका लाखौं ज्येष्ठ नागरिक एक्लै बस्ने गरेको देखाउँछ। दुई शब्द बोल्ने र सुन्ने कोही पनि हुँदैन,” एज युकेका च्यारिटी डाइरेक्टर क्यारोलाइन एब्राहम्सले बताइन्। 

संस्थाले क्याडबरी डेरी मिल्कसँग साझेदारी गर्दै अनुसन्धान पूरा गरेको हो। उमेर बढेसँगै ३८ प्रतिशतले एक्लोपन अनुभव गरेको बताए। त्यसैगरि, १२ प्रतिशतले एक्लोपनकै कारणले घरबाहिर नजाने बताए।

“एक्लोपन ठूलो समस्या हो किनभने अवकाश, शोक र कमजोर स्वास्थ्यका कारण थुप्रै ज्येष्ठ नागरिकहरूले चाहेभन्दा थोरै समय अरूको सामिप्यमा बिताउने गर्छन्,” एब्राहम्सले बताइन्, “एक्लोपनले तपाईंको स्वास्थ्य, सुख र आफूलाई हेर्ने तरिका पनि प्रभावित पार्दछ। यसले तपाईंलाई अदृश्य देखाउँछ। बिर्सेजस्तो बनाउँछ।”

सहभागीमध्ये ४० प्रतिशतले छिमेकीसँग चिनापर्ची भए घरबाट दैनिक बाहिर निस्कन बढि आत्मविश्वास हुने बताए। कसैले कुराकानी गर्न रोके उनीहरू उत्साहि हुन्छन्। ५४ प्रतिशत सहभागीले कोहि छिमेकी वा चिनेजानेका व्यक्तिसँग छोटो कुराकानी मात्रै गर्दा पनि समग्र दिन रमाइलो हुने बताए। 

बैंक वा पसलमा लाम लाग्दा कसैले मुस्कुराए वा उनीहरूलाई महत्त्व दिए रमाइलो लाग्ने एक चौथाइ ज्येष्ठ नागरिकले बताए। दिन कस्तो रह्यो भनेर कसैले सोधे पाँचमध्ये एक जनालाई रमाइलो अनुभव हुने रहेछ।

त्यसैगरि संयुक्त अधिराज्यकै १६ देखि ४५ उमेरका दुई हजार व्यक्ति सहभागी अर्को सर्वेक्षणले ५५ प्रतिशत युवालाई वृद्धावस्थामा एक्लो हुने चिन्ता भएको देखाएको छ। उनीहरूमध्ये दुई तिहाइले ज्येष्ठ नागरिकको आत्म चाहेको बताए पनि ३७ प्रतिशतले त्यस्तो प्रयासले राम्रो प्रतिक्रिया नपाउने चिन्ता भएको बताए। त्यसबाहे ३० प्रतिशतलाई ज्येष्ठ नागरिकसँग कुराकानी गर्न लाज लाग्छ भने २७ प्रतिशतलाई कसरी सहयोग गर्ने थाहा नपाएको र एक चौथाइले आफैं व्यस्त रहेको बताए।

उनीहरूलाई सहयोग गर्न क्याडबरी र एज युकेले “डोनेट योर वर्ड्स” नामक नयाँ अभियान थालेका छन्। अभियानले मानिसहरूलाई समुदायमा भएका पाका व्यक्तिसँग कुराकानी गर्न प्रोत्साहन गर्दछ। अभियानका लागि वानपोलले सर्वेक्षण गरेको हो।

स्टडीफाइन्ड डट ओआरजीबाट 

प्रकाशित मिति: ०७:२९ बजे, सोमबार, असोज २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्