रोनाल्डोका ह्याट्रिकमा युनाइटेडको जित, आर्सनल र टोटनहम पराजित
काठमाडौं, वैशाख ४: पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ।गएराति भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेपछि युनाइटेडले...
काठमाडौं, वैशाख ४: पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ।
गएराति भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेपछि युनाइटेडले नर्विच सिटीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो। सातौं मिनेटमा रोनाल्डोको गोलमा युनाइटेडले खेलमा शुरुआती अग्रता लियो।
उनले एन्थोनी इलांगाको पासमा गोल गरेका थिए। ३२औं मिनेटमा एलेक्स टेलेसको पासमा रोनाल्डोले नै युनाइटेडको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा केइरन डोवेलले गोल गर्दै नर्विचलाई खेलमा फर्काउने प्रयास गरे। ५२औं मिनेटमा टिमु पुकीले गोल गर्दै खेलालाई २–२ को बराबरीमा ल्याए।
७६औं मिनेटमा रोनाल्डोले फ्रि किकमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टिमलाई ३–२ को जित दिलाए। यो रोनाल्डोको करिअरको ५८औं फ्रिकिक गोल हो। यता, रोनाल्डोको यो करिअरको ६०औं ह्याट्रिक हो भने क्लब फूटबलको ५०औं ह्याट्रिक हो।
यसैगरी शनिबार राति नै भएको अन्य खेलमा आर्सनल र टोटनहम भने पराजित भए। हारपछि दुवैलाई शीर्ष चारमा लिग सकाउने अभियानमा धक्का लागेको छ।
शनिबार राति भएको खेलमा टोटनहम ब्राइटन र आर्सनल साउथह्याम्पटनसँग समान १–० ले पराजित भए। टोटनहमविरुद्ध जित दिलाउन ब्राइटनका लिएन्द्रो ट्रोसादले गोल गरेका थिए भने आर्सनलविरुद्ध साथउह्याम्पटनलाई जित दिलाउन जान बेनड्रेकले गोल गरेका थिए।
जितसँगै युनाइटेडले ३२ खेलमा ५४ अंकसहित पाँचौं स्थानमा छ। यता, नर्विच २१ अंक जोडेर पुछारमा छ। ५७ अंकसहित टोटनहम चौथो स्थानमा रहँदा ५४ अंक जोडेको आर्सनल छैठौं स्थानमा छ।












