Kathmandu Press

पोखरामा नवौं राष्ट्रिय खेलकूदको तयारी

पोखरा, वैशाख ४: सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेसँगै पोखरामा प्रारम्भिक तयारी शुरु भएको छ।दुई...
पोखरामा नवौं राष्ट्रिय खेलकूदको तयारी

पोखरा, वैशाख ४: सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेसँगै पोखरामा प्रारम्भिक तयारी शुरु भएको छ।

दुई वर्षअघि हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण रोकिएको थियो। अहिले मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकूद आयोजना गर्ने निर्णय गरेको हो।

सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी शुरु गरेका छन्। प्रतियोगिताका लागि मुख्यगरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन्।

Hardik ivf

पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकूद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य राजेशकुमार गुरुङले बताए।

उनले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति तत्कालै शुरु गर्नु अहिलेका लागि महत्वपूर्ण विषय रहेको बताए। 'राष्ट्रिय खेलकूदलाई भव्यरूपमा सफल बनाउनका लागि खेल पूर्वाधार नै महत्वपूर्ण हुन्छ। अधिकांश खेलका पूर्वाधार तयार भए पनि केहीको स्तरोन्नति गर्नु आवश्यक छ,; उनले भने।

राष्ट्रिय खेलकूद आयोजना हुनुपूर्व देशका ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनोटका प्रतियोगितासँगै बन्द प्रशिक्षणलगायतका कार्यक्रमसमेतलाई अघि बढाउनुपर्ने हुन्छ। प्रतियोगितामा कम्तीमा ३६ वटा खेल प्रस्तावका रूपमा अघि सारिएको सदस्य गुरुङले जानकारी दिए।

राखेपका पूर्वसदस्य एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाटले प्रतियोगिता आयोजनाको अवसरलाई चुनौतीका रूपमा ग्रहण गर्दै चार दशकअघिको इतिहास दोहोर्‍याउने जिम्मा पोखरेलीहरूको काँधमा आएको बताए। उनले सबै पोखरेली तथा प्रदेशवासीले प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकूदको तयारीका लागि राखेपले सातै प्रदेशका सदस्यसचिव सम्मिलित बैठकको आह्वान गरेको छ। सोको तयारीका लागि शनिबार गण्डकी प्रदेश परिषद्ले पोखरामा सुझाव सङ्कलन गरेको थियो।

पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुदका सदस्यसचिव तेजबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको तयारीस्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशका रूपमा उठाउनुपर्ने विषयमा सुझाव सङ्कलन गरिएको बताए।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले राष्ट्रिय खेलकूद आयोजनाको हिसाबमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासी एकजुट हुनुपर्ने बताए। प्रदेश खेलकूद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङले सरकारले गण्डकीमा प्रतियोगिता आयोजना गर्ने निर्णय स्वागतयोग्य रहेको बताउँदै प्रदेश खेलकूद र राष्ट्रिय खेलकूद परिषद्बीच रहेका विभिन्न प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने बताए।

नवौँ राष्ट्रिय खेलकूदका लागि पूर्वाधार स्तरोन्नतिका राखेपबाट यस वर्ष पोखरामा १७ करोड विनियोजन गरिए पनि कार्यक्रम कार्यान्वयन हुन सकेको छैन। (रासस)

प्रकाशित मिति: ०७:४२ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्