फोहर व्यवस्थापनको जिम्मा महानरको मात्रै होइन: कामपा
काठमाडौं, वैशाख ४: उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरको मात्रै नभएको र सबै निकायको सहकार्य आवश्यक रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।गत फागुन र...
काठमाडौं, वैशाख ४: उपत्यकाको फोहर व्यवस्थापन जिम्मा आफ्नो मात्रै नभएको र सबै निकायको सहकार्य आवश्यक रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
गत फागुन र चैतमा मात्रै काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर ३३ दिन सिसडोलसम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्।
यसरी विभिन्न बहानामा फोहरको अन्तिम व्यवस्थापन नहुनाले ठूलो समस्या सिर्जना गरेको भन्दै फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, उपत्यकाका १८ स्थानीय तह सिसडोलका स्थानीयसँगको छलफल गरेर दीर्घकालिन समाधान खोजिनुपर्ने काठमाडौं महानगरले जनाएको छ।
अहिले नै समस्या समाधान गर्न सकिएन भने आगामी बर्खामा ठूलो समस्या आउने कामपा वातावरण विभागको प्रमुख सरिता राईले बताइन्।
प्रमुख राईले भनिन्, 'उपत्यकाबाट १८ स्थानीय तहको फोहर सिसडोल जाने गरेको तर फोहर व्यवस्थापन हुन नसक्दा समस्या पैदा भएको छ। त्यसको दोष भने काठमाडौं महानगरलाई आउने गरेको छ, यो सबैको साझा विषय बन्नुपर्छ।'
अहिले बिहान २ बजेदेखि ८ बजेसम्म फोहर बोकेका गाडी ल्यान्डफिल साइट जाने गरेका छन्। पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज तुल्याउन यसबाहेकको समयमा फोहर बोकेको गाडी पठाउने गरिएको छैन।
यसबीच गत फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शहरी विकासमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। ल्यान्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो।
उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब एक हजार २०० मेट्रिकटन फोहर ल्यान्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ। जसमध्ये करिब ५४५ मेट्रिकटन फोहर काठमाडौं महानगरको हो।
'हामीले नियमित काम गर्न पायौँ भने तीन दिनभित्र यसअघि सहरमा थुपारिएको सबै फोहर उठाइसक्छौँ। पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो,' उनले भनिन्, 'यो समस्याको समाधान हामीबाट मात्र सम्भव छैन। अहिलेको समस्याको मूल कारण सडक हो। नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ।'











