नेपाल–चीन संयुक्त वक्तव्य : केरुङ–काठमाडौ सुरुङ मार्ग र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गमा जोड
काठमाडौं, असोज २६ः चीनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यमा केरूङ–काठमाडौं जोड्ने सुरूङ मार्ग बनाउन....
काठमाडौं, असोज २६ः चीनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यमा केरूङ–काठमाडौं जोड्ने सुरूङ मार्ग बनाउने सम्झौतामा जोड दिइएको छ ।
१४ बुँदे वक्तव्यको पाँच नम्बरमा भनिएको छ, ‘दुई देशबीचको सुदृढ कनेक्टिभिटीको महत्व महसुस गर्दै केरूङ–काठमाडौं जोड्ने सुरूङमार्गको सम्भाव्यता अध्ययन गर्न सक्रियताका साथ सहकार्य गर्न दुवै देश सहमत भएका छन्।
सरकारले केरूङ–काठमाडौं जोड्न काठमाडौंको टोखादेखि छहरे र रसुवाको बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्म सुरूङ मार्ग बनाउने बताउँदै आएको छ।
सुरूङ मार्ग बनाउन दुवै देशले संयुक्त निर्माण कम्पनी बनाउने समझदारी पनि गरेका छन्। संयुक्त वक्तव्यमा केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ।
‘सन २०१८मा रेल्वे सहकार्यका लागि भएको एमओयूको स्मरण गर्दै दुवै देश आजै हस्ताक्षर भएको अर्को एमओयूअनुसार, क्रस बोर्डर रेल्वे लाइन निर्माणमा कोशेढुंगा हुने सम्भाव्यता अध्ययन गर्न सहमत भएका छन्। काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउन सहकार्य बढाउने विषयमा दुवै देशले प्रतिबद्धता दोहोर्याएका छन्,’ वक्तव्यमा भनिएको छ।
त्यस्तै, स्वर्गीय जननेता मदन भण्डारीको नाममा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न पनि दुई देश सहमत भएका छन्। नेपालको जलविद्युत क्षेत्रमा चीनियाँ लगानी बढाउने विषयमा पनि दुबै देशले सम्झौता गरेका थिए।
संयुक्त वक्तव्यमा चिनियाँ पक्षले सिचुवान प्रान्तको राजधानी छेन्दुमा नेपाली महावाणिज्य दूतावास खोल्न सहमति दिएको छ।






