कृषि गणनालाई गणक र सुपरीवेक्षक परिचालन
खाेटाङ, बैशाख ३ : कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरीवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले देशभर हरेक १०–१० वर्षमा...
खाेटाङ, बैशाख ३ : कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरीवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषिगणना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरीवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत जीतबहादुर कोइरालाले जानकारी दिएका छन। कृषि गणनामा खटिने कर्मचारीका लागि दिक्तेलमा गत चैत २५ गतेदेखि वैशाख २ गतेसम्म एकहप्ते तालिमको आयोजना गरिएको थियो।
स्थलगतरूपमा हरेक कृषकको घरमा खटिएका कर्मचारीले जिल्लाका १० वटै स्थानीय तहमा वैशाख ६ देखि जेठ १९ गतेसम्म गणनाको काम गर्ने अधिकृत कोइरालाले जानकारी दिएका छन। 'पहिलो चरणमा सूचीकरण गरेर दोस्रो चरणमा मुख्य प्रश्नावली भरिन्छ,' उनले भने, 'जिल्लाका १० वटै स्थानीय तहका ७९ वडामध्ये ७४ वडामा १८१ वटा क्षेत्र निर्धारण गरिएको छ। एउटा क्षेत्रबाट २० देखि ३० कृषकको विस्तृत विवरण सङ्कलन गर्ने योजना बनाइएको छ।'
गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिञ्चित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, प्रमुख बालीको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोगलगायतको विवरण सङ्कलन हुने जनाइएको छ। जातअनुसार पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्पखेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको पर्याप्तताका बारेमा पनि जानकारी सङ्कलन हुने अधिकृत कोइरालाले जानकारी दिए।
जिल्लामा कृषि गणनाका लागि दिक्तेलस्थित भवन गैरामा गत चैत १ गते कृषि गणना कार्यालय स्थापना गरिएको छ। दिक्तेलमा स्थापना गरिएको कृषि गणक कार्यालयको कार्यावधि २०७९ जेठ मसान्तसम्म रहने जनाइएको छ।












