विश्वमा नेपाली खानाको अन्वेषण गर्न युवा सेफ प्रतियोगिता
काठमाडाैं, वैशाख ३ : अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ।सेफ्स एसाेसिएसन अफ नेपालले ग्लोबल नेप्लिज सेफ्स फेडेरेसन र इन्टरनेसनल...
काठमाडाैं, वैशाख ३ : अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ।
सेफ्स एसाेसिएसन अफ नेपालले ग्लोबल नेप्लिज सेफ्स फेडेरेसन र इन्टरनेसनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा भोलि आइतबार युवा सेफ्स प्रतियोगिता आयोजना गर्न लागेकोे हो।
प्रतियोगितामा होटल व्यवस्थापनको अध्यापन हुने उपत्यकाभित्रका ११ कलेजका विद्यार्थीले भाग लिने फेडेरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए।
ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभाकक्षमा हुने प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेजका साथै पद्मकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहने उनको भनाइ थियो।
प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा बिबिसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ भण्डारीसहित सूर्यकिरण श्रेष्ठ र श्याम लामा रहने जनाइएको छ।
युवा सेफलाई प्रोत्साहन गर्दै युवालाई नेपाली खानाप्रतिको सकारात्मक विचार जगाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिन पाउने भएका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख, द्वितीयलाई रु. ५० हजार र तृतीयलाई रु. २५ हजार पुरस्कार प्रदान गरिनेछ।












