Kathmandu Press

निर्धारित मितिमै निर्वाचन हुन्छ : थपलिया

जनकपुर, वैशाख ३ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन्। जनकपुरधाममा आज (शनिबार) आयोजित स्थानीय तह...
निर्धारित मितिमै निर्वाचन हुन्छ : थपलिया

जनकपुर, वैशाख ३ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन्। 

जनकपुरधाममा आज (शनिबार) आयोजित स्थानीय तह निर्वाचन-२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए। 

निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गरे।

निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केहीसँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिए। 

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्