बन्दीपुर सडक खाना महोत्सव, ५० हजार पर्यटकले गरे अवलोकन
तनहुँ, वैशाख ३ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा...
तनहुँ, वैशाख ३ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् ।
चैत ३० गतेदेखि सुरु महोत्सव शुक्रबार सकिएको थियो। महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको सङ्ख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए।
दिउँसो आउनेको सङ्ख्या अत्यधिक रह्यो, तीन दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको सङ्ख्या भने कमै भयो”, प्रधानले भन्नुभयो । उहाँका अनुसार बास बस्ने पर्यटकको सङ्ख्या दैनिक दुई हजार थियो ।
बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ को प्रस्तुति रहेको थियो ।












