दरबारमार्गमा सडक महोत्सव हुने
नयाँ वर्षको अवसरमा आज शनिबार काठमाडौँको दरबारमार्गमा १५ औँ दरबारमार्ग सडक महोत्सव (स्ट्रिट फेस्टिभल)को आयोजना हुँदै छ ।
काठमाडौं, ३ वैशाखः नयाँ वर्षको अवसरमा आज शनिबार काठमाडौँको दरबारमार्गमा १५ औँ दरबारमार्ग सडक महोत्सव (स्ट्रिट फेस्टिभल)को आयोजना हुँदै छ ।
महोत्सवको औपचारिक सुरुवात दिउँसो १२ः३० बजे नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट हुने छ । सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ औपचारिक शुभारम्भ हुने आयोजकले जनाएको छ ।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवको मूल नारा सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्ड तथा एनसेलको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो ।
चर्चित गायकगायिका, कलाकार तथा सांगीतीक समुहहरूको प्रस्तुति, स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन स्टलहरू र बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरू रहने छन् ।
महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई ब्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समुहहरू जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले प्रस्तुति दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियनहरु भरतमणि पौडेल र सुमन कोइरालाको प्रस्तुतिलगायत रहने छन् ।
महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरू पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सवमा ६० वटा स्टल रहने छन् ।
महोत्सवको मुख्य प्रायोजकमा एनसेल रहेको छ भने सह–प्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैंकिङ् पाटर्नरमा एनआईसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेशनल लाईफ इन्सुरेन्स, वेभरेज पाटर्नरमा डाबर नेपाल, अन्य सहयोगी पाटर्नरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एन्डीज् आइसक्रिम र नेपाल डेरी रहेका छन् ।












