मल अभावले झापाको केराखेती संकटमा

झापा, वैशाख ३ : झापाका किसानलाई मल अभाव भएको छ। मल अभाव भएपछि झापाको केराखेती संकटमा परेको छ। मल अभावकै कारण केरा उत्पादन घट्न थालेको छ।
आम्दानी सोचेभन्दा कम भएपछि कनकाई–३ का बेनु पराजुलीले केराखेती घटाएका छन्। यसअघि ५० बिघामा केरा खेती गर्दै आएका उनले यो पटक ३० बिघामा मात्र केरा लगाएका छन्।
सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।
विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी–७, बाह्रदशी–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४ सय बिघामा व्यावसायिक केराको खेती गर्दै आएका थिए ।
किसानहरु बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश सङ्ग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गरेका थिए। उनीहरुले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भागमा लिएर सामूहिक केराखेती सुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका छन् ।
केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यो पटक १ सय बिघाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए।
वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उनले गत वर्ष एकपटकसमेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ ।
उनले केरालाई जैविकसँगै रासायनिक मलको पनि आवश्यकता पर्ने तर समयमा नपाइने समस्याका कारण पनि किसान मारमा परेको जानकारी दिए। उनका अनुसार व्यावसायिक केराखेती गर्ने किसानले बाली बिमा नगर्दा प्राकृतिक प्रकोपका कारण क्षति भएका बेला उनीहरुले राहत नपाउँदा पनि ठूलो क्षति व्यहोरिरहेको देखिन्छ ।












